लक्ष्मी तिमिल्सेना
जमुनाह, चैत २१ गते । भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेले सेवाग्राहीका लागि कार्यालय प्रवेशसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। कार्यालयले सूचना जारी गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन अबदेखि परिचय खुल्ने कागजात हेरेपछि मात्र सेवाग्राहीलाई कार्यालय प्रवेश दिइने जनाएको छ।
सूचनाअनुसार अनधिकृत व्यक्ति तथा बिचौलियाको प्रवेश रोक्न यो व्यवस्था गरिएको हो। कार्यालयबाट सेवा लिन आउने सेवाग्राही, कानुन व्यवसायी तथा लेखापढी व्यवसायीले अनिवार्य रूपमा परिचयपत्र बोकेर आउनुपर्नेछ।
त्यस्तै, अन्य व्यक्तिले पनि कार्यालय प्रवेशद्वारमै परिचय खुल्ने कागजात देखाएर मात्र प्रवेश पाउने व्यवस्था गरिएको छ। साथै, आधिकारिक व्यक्तिबाहेक अन्य कसैले विभिन्न शाखा वा फाँटमा प्रवेश गरी कामकाजमा बाधा नपुर्याउनसमेत कार्यालयले अनुरोध गरेको छ।
प्रमुख मालपोत अधिकृत सविनसिंह चौधरीले जारी गर्नुभएको सूचनामा सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन सबै सेवाग्राहीलाई नियम पालना गर्न आग्रह गरिएको छ।
चौधरीका अनुसार, ‘जेनजी’ आन्दोलनपछि सर्वसाधारणको चाप एक्कासि बढ्दा भवनभित्र अव्यवस्था सिर्जना भएको थियो। “अनावश्यक भीड नियन्त्रण गर्न र सुरक्षा कायम राख्न यस्तो निर्णय लिनुपरेको हो,” उहाँले भन्नुभयो।
नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि सेवा प्रवाह थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।