• २१ चैत २०८२, शनिबार

पुरस्कारको थुप्रो

blog

उहाँ देशको होनहार र मूर्धन्य साहित्यकार । नेपाली साहित्यका क्षेत्रमा पु¥याएको योगदानस्वरूप वर्षमा चार पाँच वटा पुरस्कार र सम्मान प्राप्त गरिरहनुभएको छ । उहाँको नाम सुन्नासाथ ठुलै राशिको पुरस्कार दिने गरिन्छ । योगदान ठुलो, उमेर पाको । ठुलै मानिस भएपछि पुरस्कारको राशि पनि ठुलो हुनै प¥यो । आफ्नो जिम्मेवार पदमा हुँदा तलब पाएबापतको कर्तव्य निर्वाह गरेकै हो, उहाँले । त्यही योगदानले आज उहाँलाई पुरस्कारको भागीदार बनायो । लाख घटीका पुरस्कारमा उहाँलाई आँखै लाग्दैन । पुरस्कृत गरिएकोमा सम्मानको प्रस्ताव आउँदा उहाँ सर्वप्रथम पुरस्कारको राशि कति छ ? भनेर सोध्नुहुन्छ । पुरस्कारको राशि ठुलो भए तुरुन्तै सहमति जनाउनुहुन्छ । सानोतिनो नगदको पुरस्कारमा उहाँबाट ‘अलिक सन्चो छैन’ को जवाफ आउँछ । 

पुरस्कार मात्रै कहाँ हो र, पुरस्कारका साथै सम्मानपत्र पनि प्रदान गरिन्छ । महँगै खालको दोसल्ला पनि ओढाइन्छ । राशि ठुलो भएपछि त्यही अनुरूपको सम्मानपत्र पनि ठुलै हुनै प¥यो । “पुरस्कार र सम्मानपत्र ग्रहण गरिदिन अनुरोध गर्दछौँ” भन्ने पत्र लिएर जाँदा उहाँको उचाइको पनि नाम लिएर आउने जिम्मेवारी मैले पाएँ । उहाँको उभिएको शरीरको नाप लिँदा सोध्नुभयो, “दौरा सुरुवाल पनि लगाइदिने योजना छ कि ?” मैले हाँस्दै भने, “होइन पछि थाहा पाइहाल्नुहुन्छ नि हजुर !” आफूसँगै लिएर गएको फिताले नापो लिएर लेखेर राखेँ । पाँच फिट चार इन्च । पुरस्कारको घोषणा भयो । पत्रपत्रिका, टेलिभिजन, रेडियो, सामाजिक सञ्जाल, जताततै उहाँकै मात्र चर्चाले बजार हल्ला पिट्यो । देशविदेशबाट बधाईको ओइरो लाग्न थाल्यो । पुरस्कार दिने संस्था र पाउने स्रष्टा दुवै गदगद । 

ठुलै प्रेक्षालयमा भव्य सभ्य कार्यक्रम आयोजना गरिने तय भयो । खाजाको व्यवस्था, ब्यानर, तुल, खादा, माला, दोसल्ला अतिथि वक्ता सबैको निधो भयो । मञ्चमा आसनग्रहण गर्नेको ताँती तयार भयो । अगाडि बस्नेको हिसाब गरिएन । पुरस्कृत व्यक्तिलाई कार्यक्रम स्थलसम्म ल्याउने र पु¥याउने जिम्मा मलाई प¥यो । मोबाइलमा फोन गरेर लिन आउने जानकारी गराएँ । तोकिएकै समयमा उहाँको घरमा पुगेँ । ढोकाबाट भित्र छिर्नासाथ भित्तामा काँटी ठोकेर पुरस्कार, सम्मान, अभिनन्दन आदिका फ्रेमहरू झुन्डिएको देखेँ । कपडाका, काठका, चाँदीका, पित्तलका, बाँसका नानाथरीका रङ, आकार, डिजाइनका पत्रहरूले भित्तै ढाकेको । घरको भित्ता कतै खाली थिएन । भित्र कोठामा पुगेँ । नमस्कारको आदानप्रदान भयो । आउनुको प्रयोजन बताएँ । “एकैछिन है बाबु, म लुगा फेरेर आउँछु” भन्दै उहाँ कोठातिर छिर्नुभयो । म भने उहाँको बैठककक्षमा बसेर कुरिरहेँ । यत्रतत्र छरिएका पुस्तकहरू, पाण्डुलिपिका ठेलीहरू, समीक्षार्थ पठाएका पत्रसहितका पुस्तक देखेर दङ्ग परेँ । कोठाका भित्ताभरि पुरस्कार र सम्मानका फ्रेमले पूरै कोठा ढाकिएको । कतै खाली ठाउँ छैन । यसो भुइँतिर आँखा डुलाएँ । भुइँभरि छरपस्ट सम्मानपत्रहरू छन् । कतै चाङ लगाएर राखेका छन् । साना, ठुला, मझौला । मनमनै सोचेँ, हाम्रो संस्थाले दिएको उहाँको उचाइ बराबरको सम्मानपत्र कता राख्ने होला ? कतै पनि खाली ठाउँ देखिँदैन । सोचेँ, एउटै व्यक्तिलाई यत्रो सम्मान र प्रमाणपत्र किन दिनु परेको होला ?

एउटै व्यक्तिलाई यति विधि सम्मान र पुरस्कार दिनुभन्दा नयाँ पुस्ताका सर्जकलाई सानै राशिको भए पनि पुरस्कार दिए कति राम्रो हुन्थ्यो । हुन त म पनि पुरस्कृत गर्ने योग्यता भएकै साहित्यकार हुँ । फाट्टफुट्ट कथा, कविता पत्रपत्रिकामा छपाउँछु । कसैले नबोलाए पनि साहित्यिक कार्यक्रममा सहभागी हुन जान्छु । अघिल्लो लहरमा बसेर मज्जाले ताली बजाउँछु । कार्यक्रममा बाँडेका निःशुल्क पुस्तक झोलामा हाल्छु । खाजा खाने समयसम्म कुरेर बस्छु । खाजाको प्याकेट हात परेपछि लुसुक्क बाटो लाग्छु । मौका छोपेर पुरस्कृत व्यक्ति र प्रमुख अतिथिसँग सेल्फी खिच्छु र सामाजिक सञ्जालमा पोस्ट पनि गर्छु ।

एउटै सर्जकलाई उप्रीमाथि थुप्री पुरस्कार र सम्मान दिनुभन्दा उमेरले काँचै सिर्जनाले पाको व्यक्तिलाई छानेर पुरस्कार दिनु पर्छ भन्ने मेरो तर्क । लाखौँको पुरस्कार एउटै व्यक्तिलाई दिनुभन्दा थोरै थोरै राशिका पुरस्कार १० जनालाई दिए सबैको सम्मान हुन्थ्यो । पुरस्कृत व्यक्तिमा ऊर्जा थपिन्थ्यो । नयाँ नयाँ सिर्जना जन्मने थिए । बेत बसिसकेका गाईलाई स्याहार गरे जस्तो । ती बडेमानका साहित्यकारबाट कुनै नयाँ सिर्जना आउने आसै हराएको छ । थरथर काम्दै पुरस्कार थाप्ने हातबाट कलम चल्दैन । पुरस्कारका राशि र सम्मानपत्र समाल्न अर्कै व्यक्ति लानुपर्ने अवस्थाका व्यक्तिलाई किन सम्मान र पुरस्कारको भारी बोकाएको होला ?

निश्चित सङ्ख्याका अग्रज स्रष्टाले मात्रै घुमाइफिराई पालैपालो पुरस्कार पाइरहने हो भने नयाँ पुस्ताको पालो कहिले आउने ? पुरस्कार पाएको नगदको त सदुपयोग होला तर घरभरि जम्मा भएका सम्मानपत्र, ताम्रपत्र, चाँदीपत्र र भोजपत्र पछि कुनै काम लाग्दैनन् । खाली सिसी पुराना कागजवालाले पनि किनेर लाँदैनन्, व्यर्थमा पैसाको नाश ।

मान्छेको जात लोभी नै हुन्छ । आफू पुरस्कार थाप्न जान नसक्ने अवस्थामा पुगेको मान्छे पनि पुरस्कार राशि सम्झेर ‍¥याल काड्न छाड्दैन । “म बुढो भएँ मलाई पुरस्कार र सम्मान पुग्यो । नयाँ पुस्तालाई यो सम्मान दिनु पर्छ” भनेर आयोजकलाई भन्न किन नसकेको होला ?

एउटै व्यक्तिले थरी थरीका नामको पुरस्कार र सम्मान पाएको समाचार पढ्दा पनि नौनाडी गलेर आउँछ । यसो हे¥यो आफ्नो नाम कतै छैन । आफूले पुरस्कार नपाएको झोकमा पुरस्कारप्रति नै वितृष्ण जागेर आउँछ । सक्रिय जीवन बाँचुन्जेल तोकिएको कामका लागि तलबभत्ता सुविधा पाए । देशविदेशको भ्रमण गरेँ । सरकारी सम्पत्ति स्वाहा पार्नमा ठुलै योगदान पनि दिएँ । संस्थाबाट ससम्मान बाहिरिएपछि पनि पुरस्कारको ताँती आफ्नापछाडि लगाइरहेँ । 

घुमीफिरी निश्चित सङ्ख्याका साहित्यकारलाई नै राष्ट्रका, संस्थाका, व्यक्तिका नामको पुरस्कार र सम्मानको म्युजिकल चेयर देख्दा विरक्त लागेर आउँछ । कहिलेकाहीँ त मरणोपरान्त पनि पुरस्कारको ठुलै राशि परिवारजनलाई हस्तान्तरण गरिन्छ । कुनै कुनै साहित्यकार त देशको नागरिकता त्यागेर विदेश पलायन भएका छन् । तिनलाई पनि ठुलै राशिको पुरस्कार दिइन्छ । पुरस्कार लिन आउँदा पासपोर्टमा भिसा लाएर नेपाल आउनु पर्छ । त्यसको साटो देशभित्र क्रियाशील रहेका निर्धन, आस्था, त्याग, लगन, समर्पण, मेहनत गरेका फुच्चे साहित्यकारलाई सम्मान र पुरस्कृत गरेको भए अझ राम्रा सिर्जना आउने थिए होला । आयोजक यसप्रति कहिल्यै ध्यान दिँदैनन् । केही निश्चित सङ्ख्याका वरिष्ठ साहित्यकारलाई दिइने पुरस्कारले नयाँ पुस्तालाई निरुत्साहित बनाएको छ । आफ्नो पालो कहिल्यै नआउने ठानेर सिर्जना गर्न छाड्ने परिस्थिति उत्पन्न हुने त्रास छ । अरूले पुरस्कार पाएकोमा मैले डाहा गरेको होइन । पालैपालो गर्दा पनि एक दिन त मेरो पनि पुरस्कार थाप्ने पालो आउने थियो भन्ने झिनो आस मात्रै हो । 

राजनीति र साहित्यकारको कहिल्यै उमेर हद नहुने रहेछ । उमेर जति बढेर गयो, लोभ उत्तिकै बढेर आउने रहेछ कि क्या हो ?

अग्रजहरूको पुरस्कार वितरण कार्यक्रममा नयाँ पुस्ताहरू कहिलेसम्म ताली बजाउन र खाजा खान मात्रै भेला भइरहने होला ? अब पुरस्कार नपाउने नयाँ पुस्ताले पुरस्कार पुस्तान्तरणको आन्दोलन चलाउनुपर्ने अवस्था सिर्जना भएको देख्छु । आखिर आन्दोलनबाटै अधिकार प्राप्ति हुने लक्षण देखिन थालेको छ । अबउप्रान्त पुरस्कारमाथिबाट होइन तलबाट बाँड्न सुरु गरिनु पर्छ । भत्ता खाने उमेरका सर्जकलाई मलजल गर्नुभन्दा ऊर्जाशील, प्रखर, जोसजाँगर भएका, आगो ओकल्ने स्रष्टालाई पुरस्कार वितरण गरेर सम्मान गर्ने परम्परा बसाल्न ढिलाइ गर्न नहुने मेरो निचोड छ । यसले गर्दा ढिलो चाँडो पुरस्कार थाप्ने पालो आफ्नो पनि आउनेमा कुनै शङ्का छैन । तसर्थ हरेक सङ्घ संस्थाले पुरस्कार दिने मापदण्डमा व्यापक परिवर्तन गर्नु जरुरी छ । पुरस्कार र सम्मान पाइसकेकालाई मात्रै दोहो¥‍याइतेहे¥याई होइन । नपाएकालाई पुरस्कृत र सम्मान गरौँ, साहित्यको श्रीवृद्धिमा योगदान गरौँ ।