• २१ चैत २०८२, शनिबार

राजापुर खाद्यमा १७ हजार क्विन्टल चामल थन्कियो

blog

राजापुर खाद्यको गोदाममा राखिएको चामल। तस्बिर : यज्ञप्रसाद सापकोटा

यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), चैत २१ गते ।
बर्दियाको राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उत्पादन गरेको १७ हजार क्विन्टल चामल अझै गोदाममै थन्किएको छ। बजार मूल्य अनुसार समायोजन गर्दा पनि चामल न्यून मात्रामा मात्र बिक्री भएको छ।

खाद्य मिलबाट उत्पादित चामलमध्ये ६ हजार २५० क्विन्टल पोषण युक्त चामल हो। पर्याप्त बिक्री नहुँदा गत वर्ष खरिद गरिएको धान पनि प्रशोधन गर्न बाँकी छ। गत वर्ष ३७ हजार क्विन्टल धान खरिद भएकोमा अझै ३४ सय क्विन्टल प्रशोधन हुन बाँकी रहेको छ। यस वर्ष खरिद गरिएको ३१ हजार क्विन्टल धान अझै प्रशोधन सुरु भएको छैन। गोदाम अभावका कारण नयाँ धान राख्न समस्या देखिएको छ।

मुख्य शाखा कार्यालय कमलराज पाण्डेका अनुसार, चालु आर्थिक वर्षमा स्थानीयले केवल १३१ क्विन्टल चामल मात्र खरिद गरेका छन्। दसैं र तिहारमा सहुलियत मूल्यमा बिक्री गर्दा पनि ८६ क्विन्टल मात्र बिक्री भएको थियो। मासिक ५० क्विन्टल चामल बर्दिया कारागारमा आपूर्ति हुने गरेको छ।

चामलको मूल्य बजारभन्दा बढी भएकाले बिक्रीमा समस्या आएको र त्यसपछि खाद्यले मूल्य समायोजन गरेको थियो। जिरा मसिनो चामलको मूल्य प्रतिक्विन्टल आठ हजार दुई सय र मोटा चामल पाँच हजार छ सय रुपियाँ तोकिएको थियो। पोषण युक्त चामलको मूल्य पनि एउटै हुँदा स्थानीय बजारमा बिक्री न्यून भएको प्रमुख पाण्डेले जानकारी दिनुभयो।

राजापुर खाद्यमा ५० हजार क्विन्टल क्षमताका पाँच वटा गोदाम छन्। दुई गोदाममा चामल, एक गोदाममा पुरानो धान र दुई गोदाममा नयाँ धान राखिएको छ।

प्रमुख पाण्डेका अनुसार, “गोदाम खाली भएपछि गुलरिया, बढैयाताल र बाँसगढीबाट खरिद गरेको धान ल्याइनेछ। अरु गोदाम खाली भएपछि गेरुवाको शान्तिबजार र बारबर्दियाको जयनगरको धान ल्याइने छ।”

व्यवस्थित गोदाम नहुँदा केही धान नोक्सान भएको र मुख्यतया मुसाले बढी नोक्सान गरेको खाद्यले जनाएको छ। यस वर्ष खाद्यले लक्ष्यभन्दा बढी ३१ हजार ७७६ क्विन्टल धान खरिद गरेको छ, जबकि लक्ष्य ३० हजार क्विन्टल थियो।