• २१ चैत २०८२, शनिबार

राजस्व छलिको आशंकामा ट्रकसहित मालसामान बरामद

blog

कपिलवस्तु प्रहरीले पक्राउ गरेको ट्रक (कन्टेनर) । तस्बिर : नारद कोहार

नारद कोहार
तौलिहवा(कपिलवस्तु), चैत २१ गते ।
राजस्व छलि गरेको आशंकामा कपिलवस्तुबाट ट्रकसहित मालसामान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय गोरुसिङेबाट खटिएको प्रहरी टोलीले बुद्धभूमि नगरपालिका २ गोरुसिङेस्थित पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ३८७७ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार ट्रकमा लोड गरिएको मालसामान र बिलबिजकमा उल्लेख गरिएको मालसामानको मूल्य फरक रहेको भन्ने गोप्य सूचनाका आधारमा ट्रक नियन्त्रणमा लिई जाँच गर्दा जिरा, खुर्सानी, कपडा र जुत्ता लगायतका मालसामान फेला परेको थियो ।

प्राप्त बिल कागजातअनुसार ट्रकमा रहेका मालसामानको मूल्य ६० लाख ४१ हजार ५४८ रुपियाँ ९९ पैसा रहेको छ भने ट्रक (कन्टेनर) को मूल्य ७० लाख रुपियाँ रहेको छ । गाडी र सामान गरी जम्मा मूल्य एक करोड ३० लाख ४१ हजार ५४८ रुपियाँ ९९ पैसा रहेको प्रहरीले जनाएको छ ।

उक्त ट्रकका चालक दाङ घोराही उपमहानगरपालिका ३ बस्ने ४० वर्षीय छबिलाल घर्ती मगरलाई नियन्त्रणमा लिई ट्रक, मालसामान तथा बिल कागजातसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताउनुभयो ।