अमरराज नहर्की
तनहुँ, चैत २१ गते । माटोको सुगन्धमा आफ्नो भविष्य खोज्नुभएकी सफल महिला उद्यमी कल्पना गौली ‘भानु–घाँसी सम्मान–२०८२’ बाट सम्मानित हुनुभएको छ ।
गाउँ सेवा कोष तनहुँले कृषि क्षेत्रमार्फत राष्ट्रको गरिमा बढाएको र उदाहरणीय उद्यमी बनेको भन्दै दमौलीमा उहाँलाई सम्मान गरेको हो । प्रमुख अतिथि वरिष्ठ साहित्यकार काशीनाथ न्यौपाने, कोषका अध्यक्ष श्यामसुन्दर अधिकारी र सदस्य सचिव रामजी अधिकारीले संयुक्त रूपमा गौलीलाई सम्मानपत्र, दोसल्ला र ११ हजार रुपियाँ नगद राशिसहित शुक्रबार सम्मान प्रदान गर्नुभयो ।
न्यौपानेले गौलीको परिश्रमले समाजमा श्रमको सम्मान गर्ने संस्कृति बसाल्न योगदान पुगेको बताउनुभयो । “चक र डस्टर छाडेर खन्ती र कोदालो समातेपछि प्राप्त भएको उहाँको सफलता देशभरका युवा र महिलाका लागि प्रेरणाको पाठ हो” उहाँले भन्नुभयो । घाँसीले कुवा खनेर नाम कमाएझैँ गौलीले माटोलाई साधना केन्द्र बनाउँदै समृद्धिको मार्ग देखाउनुभएको उहाँको भनाइ छ ।
व्यास नगरपालिका –२ कालिका मार्ग, दमौली निवासी गौलीले वि.सं. २०४५ देखि २०६१ सम्म १६ वर्ष अङ्ग्रेजी विषय अध्यापन गर्नुभएको थियो । शिक्षण अनुभवलाई थाती राखेर उहाँ २०७९ देखि व्यावसायिक कृषिमा होमिनुभएको हो । हाल व्यास नगरपालिका –५ ढोडेनी मा ९ रोपनी जग्गा भाडामा लिएर ‘माँ अम्बे अलौकिक कृषि फार्म’ सञ्चालन गर्दै आउनुभएको छ ।
फार्ममा दुई हजार १०० ड्रागन फ्रुटका बिरुवा छन्, जसबाट वार्षिक करिब २० लाख रुपियाँ आम्दानी हुँदैआएको छ । ड्रागन फ्रुटसँगै रैथाने तरकारी, कन्दमूल र मस्यौरा उत्पादनमार्फत उहाँले आफूलाई सफल उद्यमीको रूपमा स्थापित गर्नुभएको छ ।
“माटो र प्रकृति नै मेरा लागि भगवान् हुन्,” भन्दै उहाँले कक्षाकोठामा बिताएका वर्षहरू स्मरण गर्नुभयो, तर अहिले माटोसँगको सामीप्यले दिएको शान्ति र सन्तुष्टि अतुलनीय रहेको अनुभव सुनाउनुभयो । धैर्यपूर्वक कृषिलाई पूजा मानेर गरे विदेशिनु नपर्ने र नेपालमै मनग्य आम्दानी गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
गौलीले आफ्नो आम्दानीको २० प्रतिशत हिस्सा ग्रामीण क्षेत्रका विपन्न बालबालिकाका लागि न्यानो कपडा वितरणलगायत सामाजिक सेवामा खर्च गर्दै आउनुभएको छ । “भोकालाई भोजन र जाडोमा रहेकालाई वस्त्र दिनु नै सबैभन्दा ठुलो ईश्वरीय सेवा हो” उहाँले भन्नुभयो ।
कोषले प्रदान गरेको सम्मानपत्रमा गौलीले ड्रागन फ्रुट उत्पादन र प्रवर्धनमार्फत नारी उद्यमशीलताको उदाहरण प्रस्तुत गर्दै व्यक्ति र राष्ट्र समृद्धितर्फ कसरी अघि बढ्न सक्छ भन्ने देखाएको उल्लेख छ । गौली घरेलु तथा साना उद्योग महासङघ महिला उद्यमी समिति तनहुँकी अध्यक्षसमेत हुनुहुन्छ ।