हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), चैत २१ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नंं. १ मा अवस्थित मुक्तिनाथ मन्दिरमा स्वासप्रस्वासमा समस्या आएपछि उपचारको क्रममा एक तिर्थालुको ज्यान गएको छ ।
पर्सा जिल्लाको ठोरी गाउँपालिका–४, की ४१ वर्षीया सरिता बुढाथोकीको शुक्रबार दिउँसो साढे ३ बजे मन्दिर परिसरमा अचानक स्वासप्रस्वासान समस्या देखिएपछि अर्धचेत अवस्थामै प्रदेश अस्पताल जोमसोममा ल्याइएको थियो ।
विद्यालयका शिक्षक, आफन्तहरूसँग मुक्तिनाथ मन्दिरको दर्शनका लागि जानुभएकी बुढाथोकीलाई उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी इश्वर महतले बताउनुभयो ।
स्थानीय ज्ञानज्योति माविकी शिक्षिक महतको शब परिवारलाई बुझाइएको छ भने पोष्टमार्टम रिर्पोट आउन बाँकी रहेको प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो ।
समुन्द्री सतहदेखि ३८ सय मिटर उचाइमा अवस्थित मन्दिर क्षेत्रमा नेपाली भारतीय तिर्थालुलाई लेक लाग्ने समस्यालाई मध्यनजर गदैं ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र रहेको छ । समुन्द्री सतहदेखि २५ सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुनुलाई लेक लागेको भनिन्छ ।
लेक लागेका पर्यटकलाई टाउको हल्का दुख्नु, थकाइ र रिङ्टा लाग्नु पहिलो लक्षण हुन् भने हिँड्न गाह्रो हुने, श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पखाला लागेमा तत्काल उच्च क्षेत्रमा जान रोक्नुपर्ने र आराम गर्ने, पानी वा झोलिलो खाने कुराहरु खानुपर्ने र शरीरमा असहज महुसस भए तत्कालै आफुँ भएको भन्दा तल्लो क्षेत्रमा फर्किएर उपचार गर्नुपर्छ ।
समयमै लेक लागेकाहरूले सतर्क भएर यसबाट बच्ने उपाय र उपचार गरेमा निको हुने भएपनि हेल्चेक्राई गरी लेक लागेको क्षेत्रमै बसेमा वा माथि उचाइमा जाने प्रयास गरेमा मस्तिष्क वा फोक्सो सुन्निने गरेको छ ।
चालु आर्थिक बर्ष २०८२/०८३ सालमा ६ जनाको लेक लागेर ज्यान गएको छ। सरद र वसन्त ऋतुमा सडक र हवाई मार्ग हुदै मुस्ताङ प्रवेश गरेकामध्ये लेक लागेर ज्यान गुमाउने स्वदेशी तथा विदेशी धार्मिक तथा पर्यटकमा मुक्तिनाथ मन्दिरको दर्शन गर्ने आएका तथा दर्शन गरेर फर्किएकाहरू धेरै छन् ।