राजन रावत
हुम्ला, चैत २१ गते । हिमाली जिल्ला हुम्लामा केही ढिला गरी सातै ओटा एसइई परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण कार्य सुरु भएको छ । उत्तरपुस्तिका परीक्षणसम्बन्धी कार्यविधि ढिला गरी जिल्ला आइपुगेका कारण ६ ओटा केन्द्रमा शुक्रबारदेखि र एउटा केन्द्रमा शनिबार दिउँसोदेखि मात्र परीक्षण कार्य सुरु भएको हो ।
शनिबार ताँजाकोट गाउँपालिकाको मदनादेव मावि केन्द्रमा उत्तरपुस्तिका परीक्षण कार्य सुरु भएसँगै जिल्लाका सातै ओटा एसइई परीक्षा केन्द्रमा परीक्षण कार्यले गति लिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख खड्कबहादुर हमालले बताउनुभयो । मदनादेव मावि केन्द्रका विषय विज्ञ शिक्षक जिल्ला बाहिर रहेका कारण शनिबार मात्र पुग्नुभएको र त्यसलगत्तै परीक्षण सुरु गरिएको हो । अहिले अनिवार्य अङ्ग्रेजी र नेपाली विषयको उत्तरपुस्तिका परीक्षण भइरहेको हमालले जानकारी दिनुभयो ।
उत्तरपुस्तिका परीक्षण सुरु भएका केन्द्रमा सर्केगाड गाउँपालिकाको हिमज्योति मावि, खार्पुनाथ गाउँपालिकाको सीता मावि छिप्रा, सिमकोट गाउँपालिकाको मानसरोवर मावि, बालमन्दिर मावि, सर्केगाड गाउँपालिकाकै कोट मावि रोडीकोट, अदानचुली गाउँपालिकाको सूर्योदय मावि केन्द्र रहेका छन् ।
प्रत्येक परीक्षा केन्द्रमा विषय विज्ञ शिक्षकको व्यवस्था गरेर उत्तरपुस्तिका परीक्षण मिलाइएको छ । परीक्षा केन्द्रकै विषय विज्ञ शिक्षकबाट परीक्षण गराइएको र एक जना मात्र परीक्षक रहेकाले केही समय लाग्ने बालमन्दिर मावि केन्द्रका केन्द्राध्यक्ष कैलाश रोकायाले बताउनुभयो ।
यस वर्ष जिल्लाबाट एक हजार तीन सय परीक्षार्थी परीक्षामा सहभागी छन् । उत्तरपुस्तिका परीक्षणका लागि गोप्य कोठा र सुरक्षा व्यवस्था कडा पारिएको छ । परीक्षकलाई मोबाइल फोन बोक्न निषेध गरिएको छ भने गाउँपालिकाको सहयोगमा परीक्षण स्थल बाहिर सीसीटीभी क्यामरासमेत जडान गरिएको छ ।