सन्तोष दहित
दाङ, चैत २१ गते । दाङको राप्ती गाउँपालिका –४ मा भएको ज्यानसम्बन्धी कसूर मुद्दामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका –२ निवासी आयुष्मान थापा मगरमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइएको घटनामा अनुसन्धान गर्ने क्रममा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो।
घटनामा घाइते भएका आयुष्मान थापा मगरको उपचार राप्ती आधारभूत अस्पताल सिसहनियाँमा गरिएको थियो । थप उपचारका लागि उनलाई बेलझुण्डीस्थित मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धानको क्रममा मृतक सिमत प्रधानको शव पनि फेला पारेको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्नेबित्तिकै खोजतलास तीव्र बनाइएको र त्यसक्रममा ३ जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा वंगलाचुली गाउँपालिका –८ घर भई हाल राप्ती गाउँपालिका –४ श्रीनारायण चोकमा बस्ने २० वर्षिय सर्वजीत वली, सोही वडाको मौरीघाट निवासी १८ बर्षिय निश्चल चौधरी र एक जना नाबालिका रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीले घटनास्थलबाट चक्कु, बाँसको टुक्रा, प्लास्टिकको डोरी, रड, मोबाइल लगायतको सामग्री बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिनुभयो।