• २१ चैत २०८२, शनिबार

रानीदेवी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती

blog

काठमाडौँ, चैत २१ गते । काठमाडौँको रानीबारीस्थित रानीदेवी माध्यमिक विद्यालयले शनिबार आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाएको छ । वि.सं. २०३२ फागुन ७ गतेदेखि सामान्य छाप्रोबाट पठनपाठन सुरु गरिएको यस विद्यालयका विद्यार्थी यसै वर्षदेखि एसइईमा समेत सहभागी भएका छन् ।

स्वर्ण जयन्ती कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. ३ का अध्यक्ष प्रेम थापाले विद्यालयलाई पूर्वाधार र प्रविधिबाट समृद्ध तुल्याई यस क्षेत्रकै नमुना विद्यालय बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सामुदायिक विद्यालयको भौतिक र शैक्षिक विकासका लागि वडा कार्यालयले प्राथमिकता दिने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रसन्न नरसिंह राणा, पूर्वप्रधानाध्यापक रामजी गौतम र प्रधानाध्यापक नारायण गौतमले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्न सके विपन्न तथा जेहेनदार धेरै विद्यार्थीले निःशुल्क रूपमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने धारणा व्यक्त गर्नुभयो । सो अवसरमा विद्यालयको विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो ।