राजु लामिछाने
रुकुमपश्चिम, चैत २१ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका ४ सोलाबाङमा शनिबार दिउँसो गाडी र अटो ठोक्किएर दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमकाअनुसार दाङबाट रुकुमपूर्वका लागि आउँदै गरेको बा.प्र. ०६–००१ ख ०१४६ नम्वरको फोर्स डागी र खलंगाबाट सोलाबाङतर्फ जाँदै गरेको लु. प्र. ०२–००१ ह १३७८ नम्वरको अटो राप्ती राजमार्ग अन्तर्गत सोलाबाङ नजिकै एक आसपमा ठोकिएर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । घाइते हुनेहरुमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका ५ सेरीगाउँ बस्ने अटो चालक २८ वर्षीय अर्जुन केसी, आठबिसकोट नगरपालिका ८ चुर्तिपाखा निवासी २२ वर्षीया बिमला बोहरा, सोहि स्थान निवासी अबिर महताराको छोरा ९ वर्षीय प्रवेश महतारा र सोहि वडाको दाजे निवासी ३२ वर्षीया सीता देवकोटा, उहाँको ८ वर्षीया छोरी स्मारिका देवकोटा, सोहि स्थान बस्ने तारा देवकोटाको ९ वर्षीय छोरा शिव देवकोटा घाईते हुनुभएको छ ।
त्यसैगरी बाँफिकोट गाउँपालिका ३ भाग्ले निवासी २६ वर्षीया गीता देवकोटा र उहाँको ५ वर्षीया छोरा एन्जिला देवकोटा पनि दुर्घटनामा परेर घाइते हुनुभएको छ ।
घाइतेमध्ये बिमला बोहराको टाउकोमा चोट रहेकोले अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल सल्लेमा लिईएको छ ।
गाडी चालक रुकुमपूर्वको भुमे गाउँपालिका ३ निवासी ४८ वर्षीय लालबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गाडी र अटो ठोक्किदा अटो सडकबाट ३० मिटर तल खसेको बताईएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।