• २१ चैत २०८२, शनिबार

मिक्वाखोलाका कृषि योजनामा साढे एक करोड खर्चिँदै

blog

तस्बिर क्याप्सन: मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा क्षेत्रका किसानको अलैँची बगान । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २१ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अलैँची, कफी र सुन्तला लगायतका विभिन्न कृषिजन्य योजनामा करोडौँ बजेट कार्यान्वयन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षभित्रै सम्बन्धित किसानको ५० प्रतिशत लागत साझेदारीमा डेढ करोड रुपियाँभन्दा बढीको कृषि योजना अघि बढाउन लागेको हो ।

गाउँपालिकाका अनुसार किसानको साझेदारी रकमसहित कृषिजन्य योजनामा कुल एक करोड ५८ लाख ३५ हजार रुपियाँ खर्च गरिने छ । उक्त बजेटमध्ये अलैँची खेती प्रवर्द्धन तथा क्षेत्र विस्तार कार्यक्रममा मात्रै सबैभन्दा बढी एक करोड रुपियाँ कार्यान्वयन हुने छ । जसमा गाउँपालिकाको ५० लाख र किसानको ५० लाख रुपियाँ लागत साझेदारी रहने छ ।

त्यस्तै कफी क्षेत्र विस्तार तथा प्रवर्द्धन कार्यक्रमका लागि ३० लाख रुपियाँ विनियोजन गरिएको छ । यसैगरी राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रममा १७ लाख ४० हजार रुपियाँ र मागमा आधारित कृषि उपकरण अनुदान कार्यक्रममा १० लाख ९५ हजार रुपियाँ खर्च हुने गाउँपालिकाले जनाएको छ । यी सबै कार्यक्रममा गाउँपालिका र किसानको ५०–५० प्रतिशत लागत साझेदारी रहने छ ।

कृषिजन्य योजनाहरू पालिकाका विभिन्न वडामा रहेका सहकारी तथा कृषक समूहमार्फत कार्यान्वयन हुने गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाले जानकारी दिनुभयो । उपाध्यक्ष शेर्पाका अनुसार अलैँची, कफी र सुन्तला विशेष कार्यक्रम सहकारी र कृषक समूहमार्फत तथा कृषि उपकरण कार्यक्रम सम्बन्धित किसानमार्फत कार्यान्वयन गरिने छ ।

गाउँपालिका कृषि शाखाका प्रमुख जयकिशोर सिंहका अनुसार अलैँची खेती प्रवर्द्धन तथा क्षेत्र विस्तार कार्यक्रम पालिकाका पाँचै वटा वडामा कार्यान्वयन हुने छ । कफी क्षेत्र विस्तार कार्यक्रम वडा नं १ र २ (खोक्लिङ) मा मात्र केन्द्रित हुने छ ।

त्यस्तै राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रम वडा नं १ र २ खोक्लिङ तथा वडा नं ४ साँवामा कार्यान्वयन हुने कृषि शाखा प्रमुख सिंहले बताउनुभयो । कार्यक्रमहरू तत्काल कार्यान्वयनमा लैजाने योजनाअनुरूप लागत साझेदारी रकमसहित सम्पर्क गर्न गाउँपालिकाले शुक्रबार सूचना जारी गरेको छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले यी कार्यक्रमबाट पालिकावासी किसानलाई ठुलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।