• २० चैत २०८२, शुक्रबार

मोबाइल लगेर चिट चोर्ने तीन परीक्षार्थी पक्राउ

blog

जनार्जन खत्री

सर्लाही, चैत २० गते । सर्लाहीको गोडैतामा एसईईको परीक्षा केन्द्रभित्रै मोबाइल फोन लगेर चिट चोरी गर्ने तीन जना परीक्षार्थी शुक्रबार पक्राउ परेका छन् । 

गोडैता नगरपालिका–५, रामवनमा रहेको जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा मोबाइल फोनबाट चिट चोरी गर्दागर्दै तीन जना विद्यार्थी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जनता नमूना माध्यमिक विद्यालय बलरा नगरपालिका–८, गडहीया डुमरियाका दुई जना छात्र र नारायणहरि माध्यमिक विद्यालय गोडैता नगरपालिका–१०, सिसौटियाका एक जना छात्र रहेका छन् । 

उनीहरूले मोबाइलबाट फोटो खिचेर बाहिर बसेका मानिसहरूलाई प्रश्नपत्र पठाउन ह्वाट्सएप ग्रुप नै बनाएको पाइएको छ । परीक्षा केन्द्रमा जडान गरिएको सिसिटिभीबाट निगरानी गर्दा शङ्कास्पद गतिविधि गरेको पाइएपछि खानतलासी लिँदा तीन जना विद्यार्थीको साथबाट मोबाइल फोन बरामद भएको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका सूचना अधिकारी सुनिलकुमार कुशवाहाले जानकारी दिनुभयो । 

पक्राउ परेका तीनै जना परीक्षार्थीलाई इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा राखिएको छ । परीक्षाको मर्यादाविपरीत कार्यमा संलग्न तीनै जना परीक्षार्थीको शुक्रबार दोस्रो दिन भएको अनिवार्य नेपाली विषयको परीक्षा रद्द गरिएको शिक्षा विकास एकाइका सूचना अधिकारी कुशवाहाले बताउनुभयो । 

सर्लाहीमा यो वर्ष परीक्षा केन्द्रभित्र केन्द्राध्यक्षबाहेक अन्य कसैलाई पनि मोबाइल फोन बोक्न निषेध गरिएको छ । त्यसका बाबजुद गोडैताको उक्त परीक्षा केन्द्रमा तीन जना परीक्षार्थीकै साथबाट मोबाइल बरामद भएको हो । 

यस्तै एसईई अन्तर्गत सर्लाहीमा बिहीबार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा कविलासी नगरपालिका–२, पिपरियास्थित बालगोविन्द जनता माध्यमिक विद्यालयबाहिर बसिरहेका एक जना व्यक्तिको मोबाइलमा परीक्षा जारी रहँदा प्रश्नपत्र फेला परेपछि पक्राउ परेका थिए । यो वर्ष सर्लाही जिल्लाभर ३५ वटा परीक्षा केन्द्रबाट एसईई सञ्चालन भइरहेको छ । 

परीक्षाको दोस्रो दिन शुक्रबार १० हजार ७१४ परीक्षार्थी सामेल भएका शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीले जनाएको छ । फारम भरेकामध्ये ६५७ परीक्षार्थी अनुपस्थित भएका छन् ।