नवीनराज कुइँकेल
लमजुङ, चैत २१ गते । लमजुङको विश्वप्रसिद्ध पर्यटकीय गाउँ घलेगाउँमा नयाँ वर्ष २०८३ को अवसर पारेर नवौँ स्मार्ट भिलेज आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँद्वारा आयोजित प्रतियोगिता बैशाख १ गतेदेखि सुरु हुने भएको हो ।
प्रतियोगितामा विभिन्न जिल्लाका चर्चित फुटबल क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद आठ लाख रुपियाँसहित गोल्ड कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५ लाख रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपियाँ प्रदान गरिनेछ । क्वाटरफाइनलदेखि प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’लाई नगद दुई हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा चित्लाङ फुटबल क्लब काठमाडौँ, नेपाल पुलिस क्लब गण्डकी, भुइँखेल फुटबल क्लब, अभिषेक चर्च रजहर, गन्नी फुटबल क्लब पोखरा, सूर्यपुर फुटबल क्लब चितवन, फ्रेन्डसिप युथ क्लब तनहुँ, त्रिवेणी युवा क्लब बेसीशहरलगायतका टोली सहभागी हुनेछन् ।
उद्घाटन समारोहमा राजु परियार, मधु थापा मगर, उषा गुरुङ, प्रिया गुरुङ र अनुज अधिकारी लगायत कलाकारहरूको प्रस्तुति रहनेछ । सांस्कृतिक कार्यक्रम बिहान १० बजेदेखि सुरु हुने छ भने फुटबल प्रतियोगिताको उद्घाटन दिउँसो १ बजे स्वर्गभूमि रङ्गशालामा गरिनेछ । पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइको ग्रामीण भेगमा आयोजना गरिने फुटबल प्रतियोगिता नेपालमा पहिलो प्रतियोगिता हो ।
समितिका अध्यक्ष घलेले आमन्त्रित फुटबल प्रतियोगिताले गाउँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । समुद्री सतहदेखि करिब दुई हजार एक सय मिटर उचाइमा आयोजना हुने फुटबल प्रतियोगिताको पुरस्कार राशी सम्भवतः नेपालमै सबैभन्दा धेरै रहेको उहाँले बताउनुभयो ।
ग्रामीण पर्यटन विकासको उद्देश्यसहित २०५६ सालदेखि सुरू भएको पर्यटन गतिविधिले २०५७ बैशाख २३ गते ‘प्रथम घलेगाउा महोत्सव’ सँगै होमस्टे कार्यक्रमलाई औपचारिकता दिएको थियो । त्यसयता गाउँमा कला, संस्कृति र पर्यटन प्रवर्धनका विविध कार्यक्रम हुँदै आएका छन् । २०६४ फागुनमा दक्षिण एसियाकै नमुना गाउँ (सार्क भिलेज) घोषणा गरिएको घलेगाउँलाई २०७६ मङ्सिर १७ गते ‘स्मार्ट भिलेज’ घोषणा गरिएको थियो ।
घलेगाउँका करिब १३० घरमध्ये ४५ घरमा होमस्टे सञ्चालनमा छन् । तीन वटा सुविधासम्पन्न होटल सञ्चालनमा छन् । एउटा निर्माणाधीन अवस्थामा छ । २०७९ वैशाख २ गते ‘सुखीगाउँ’ घोषणा भएपछि घलेगाउँले पर्यटन गतिविधिमा थप चर्चा बटुलेको छ ।