• २१ चैत २०८२, शनिबार

रामग्राम नगरपालिकामा विलासी सवारी विवाद

blog

भुपराज पाण्डेयका लागि भाडामा लिइएको स्कार्पियो गाडी। तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, चैत २१ गते ।
देशका अधिकांश सरकारी निकाय खर्च कटौती र मितव्ययिता नीति अपनाइरहेका बेला, पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सवारी साधनमा विलासिताका कारण विवादको सामना गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपराज पाण्डेयका लागि छुट्टै स्कार्पियो गाडी भाडामा लिएर प्रयोग गर्दा स्थानीय तहमा चर्को आलोचना भएको छ।

नगरपालिकासँग आफ्नै दुईवटा सवारी साधन छन्। नगर प्रमुखले प्रयोग गर्दै आएको स्कार्पियो र अलि पुरानो बोलेरो। तर, पुरानो बोलेरो प्रयोग नगरी नयाँ स्कार्पियो गाडी भाडामा सञ्चालन गरिएको छ।

नगरपालिकाका अनुसार, प्रमुख प्रशासकीय अधिकृत पाण्डेयका लागि मात्र स्कार्पियो भाडा मासिक एक लाख नौ हजार रुपियाँ परेको छ। यसमा इन्धन, मर्मत र सम्भारको खर्च थप हुँदा, एउटै कर्मचारीका लागि मासिक डेढ लाखभन्दा बढी खर्च भइरहेको देखिन्छ।

नागरिक समाजका पूर्व अध्यक्ष राधेश्याम सिंह सैथवारले भन्नुभयो, “नगरबासीको करको यसरी दुरुपयोग हुनु दुःखद छ। अत्यावश्यक सेवाबाहेक विलासी गाडी भाडामा लिनु उचित छैन, यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ।”

नगरपालिका प्रशासनले भने, प्रमुख प्रशासकीय अधिकृतले विभिन्न योजनाको अनुगमन गर्नुपर्ने भएकाले गाडी भाडामा लिइएको दाबी गरेको छ। तर, कार्यालयकै बोलेरो गाडी प्रयोग गर्न सकिन्छ र नगरपालिकाका १८ वटै वडाहरू भौगोलिक रूपमा सुगम छन्। यस क्षेत्रमा मोटरसाइकल प्रयोग गरी अनुगमन सहजै गर्न सकिन्छ।

जेनजी आन्दोलन र पछिल्लो राजनीतिक परिवर्तनपछि जनताले सरकारी सेवामा पारदर्शिता र खर्च कटौतीको माग गरिरहेका बेला रामग्रामको यो कदमले स्थानीय आक्रोश बढाएको छ।