सिराज खान
नेपालगन्ज, चैत २१ गते । गर्मीको मौसम सुरु भएसँगै एअरकन्डिसनर (एसी) लगायतका सामग्रीको माग बढ्न थालेपछि भारतबाट एसीको अवैध आयातसमेत बढेको पाइएको छ।
खुला सीमाको फाइदा उठाउँदै नेपाली र भारतीय दुवै तस्करले विभिन्न नाकाबाट एसीको अवैध आयात गरिरहेको पाइएको हो। बाँकेको खजुरा गाउँपालिका–१ अन्तर्गत पर्ने नेपाल–भारत सीमाको १० गजाक्षेत्रभित्र पर्ने पिलर नम्बर ६५६ आसपासबाट भारतीय सुरक्षा निकाय एसएसबीले एलजी कम्पनीका दुई थान एसीसहित ‘निब्रु’ भनिने एक व्यक्तिलाई नियन्त्रणमा लिएपछि सो क्षेत्रबाट एसी तस्करी भइरहेको पुष्टि भएको छ।
नेपाल–भारत सीमामा तैनाथ एसएसबीले खजुरा गाउँपालिका–१ अन्तर्गतको उक्त सीमाक्षेत्रबाट दुई थान एसीसहित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
एसएसबीका कमान्डेन्ट गंगासिंह उरावतले नेपाल–भारत नाकाबाट दुई थान एसीसहित एक तस्करलाई पक्राउ गरिएको बताउनुभयो। उहाँले नेपाली सुरक्षाकर्मीसँग समन्वय गरेर सीमाक्षेत्रमा हुने अवैध गतिविधि रोक्न संयुक्त रूपमा सक्रिय रहेको पनि जानकारी दिनुभयो।
स्थानीय बासिन्दाका अनुसार भारततर्फको सिपरा जंगल क्षेत्रबाट संगठित तस्करहरूले हार्डवेयर, चिनी, सुपरपावर, अटो पाट्र्सलगायत अवैध सामग्री साइकल र मोटरसाइकलमार्फत नेपाल भित्र्याउँदै आएका छन्।
यसअघि पनि जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले मुक्तिपुर क्षेत्रबाट एलजी कम्पनीका एसी भाडाको अटो रिक्सा प्रयोग गरी ल्याउँदै गरेको अवस्थामा बरामद गरेको थियो। लगातार भइरहेका यस्ता घटनाले पिलर नम्बर ६५६ आसपास क्षेत्रमा तस्करी मौलाउँदै गएको पुष्टि भएको छ।
स्थानीय बासिन्दाले सीमावर्ती क्षेत्रमा निगरानी कमजोर हुँदा तस्करहरू निर्भीक रूपमा सक्रिय भएको बताएका छन्। प्रहरीले भने सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको र निरन्तर निगरानी भइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले खजुराको उक्त नाकासहित सबै नाकामा प्रहरीले कडा रूपमा चेकजाँच गरिरहेको बताउनुभयो। उहाँले सीमा क्षेत्रमा नियमित गस्तीका साथै आवतजावत गर्ने सबैमाथि कडा निगरानी राखेर जाँच भइरहेको जानकारी दिनुभयो।
भारतबाट हुँदै आएको अवैध आयात रोक्न सीमासुरक्षालाई थप कडा बनाउनुपर्ने, नियमित गस्ती बढाउनुपर्ने तथा आधुनिक प्रविधिको प्रयोगमार्फत निगरानी प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा नेपालगन्जका नागरिक अगुवाहरूले जोड दिएका छन्।
नागरिक सरोकार मञ्च नेपालगन्जका संयोजक कृष्णप्रसाद श्रेष्ठले अवैध तस्करी नियन्त्रणमा नल्याइए राज्यको राजस्वमा ठूलो क्षति पुग्नुका साथै सीमासुरक्षामा समेत गम्भीर चुनौती थपिने बताउनुभयो। उहाँले सम्बन्धित निकायहरूले यस्ता विषयमा गम्भीरतापूर्वक ध्यान दिई प्रभावकारी अनुसन्धान तथा नियन्त्रणका कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो।