• २१ चैत २०८२, शनिबार

आगलागीबाट ध्वस्त घर एक सातामै पुनर्निर्माण

blog

पुनर्निर्माण गरिएको छ । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, चैत २१ गते ।
सल्यान कपुरकोट गाउँपालिका–५ पाङराङ टोलमा आगलागीबाट ध्वस्त भएको घर एक साताभित्रै पुनर्निर्माण सम्पन्न गरिएको छ। आगलागी पीडित दलबहादुर विकको घर सामूहिक श्रमदान र सहयोगबाट पुनर्निर्माण गरिएको हो। यही चैत १३ गते बिहीबार राति आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो।

आगलागीपछि शुक्रबारदेखि नै पुनर्निर्माण कार्य सुरु गरिएकोमा एक सातामै निर्माण सम्पन्न भएको हो। पुनर्निर्माण अभियानमा कपुरकोट गाउँपालिका, जिल्ला प्रहरी कार्यालय सल्यान, दयाकोट सिन्धुरी टोल विकास संस्था तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो।

कपुरकोट गाउँपालिकाले पीडितलाई करिब ४५ हजार रुपियाँ बराबरको कर्कट पाता तथा १० हजार रुपियाँ बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको जनाएको छ। त्यसैगरी जिल्ला प्रहरी कार्यालय सल्यानले १० हजार रुपियाँ बराबरको खाद्यान्न सहयोग गर्नुका साथै श्रमदान अभियानमा प्रहरीको समेत सहभागिता रहेको थियो।

गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीको नेतृत्वमा झण्डै ४० हजार रुपियाँ नगद सहयोग संकलन गरी पीडितलाई हस्तान्तरण गरिएको थियो। यस्तै, राहुल विश्वकर्माको नेतृत्वमा करिब ३८ हजार रुपियाँ नगद सहयोग पनि संकलन गरी प्रदान गरिएको जनाइएको छ। घर पुनर्निर्माणका लागि आवश्यक ढुङ्गा तथा काठ ढुवानीमा गाउँपालिकाको ट्रेक्टर प्रयोग गरिएको उपाध्यक्ष भण्डारीले जानकारी दिनुभयो।

आगलागीबाट करिब १० लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न सामग्री तथा काठलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएका थिए। आगलागी पीडित दलबहादुर विकले स्थानीयवासी, जनप्रतिनिधि तथा नेपाल प्रहरीप्रति आभार व्यक्त गर्दै छोटो समयमै घर पुनर्निर्माण भएकामा खुसी व्यक्त गर्नुभयो।