• २१ चैत २०८२, शनिबार

हुलाकी सडक र क्रिकेट रङ्गशाला प्राथमिकतामा

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, चैत २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्यमा मोरङ निर्वाचन क्षेत्र नं. ४ बाट विजयी भएका सांसद सन्तोष राजवंशीले विराटनगर–कटहरी हुलाकी सडकको अधुरो काम पूरा गर्ने बताउनुभएको छ । 

विराटनगर–रङ्गेली–गौरीगन्ज–भद्रपुर हुलाकी सडक विराटनगरको हाटखोलादेखि नयाँबजारसम्मको छ किलोमिटर सडक २०७६ कात्तिक २४ गते ठेक्का लागेको थियो । आयोजनाको चौथो प्याकेजमा पर्ने यो सडक छ वर्षदेखि अलपत्र छ । सांसद राजवंशीले यो सडकखण्ड र विराटनगर महानगरपालिका–१९, वैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय व्रिmकेट रङ्गशालाको निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउने बताउनुभयो । 

उहाँले भन्नुभयो, “निर्वाचन क्षेत्रमा अरू थुप्रै विकासनिर्माणका काम गर्नु छ तर उल्लिखित योजना अधुरा छन् । अधुरा र अपूरा काम सक्नु सरकारको पहिलो प्राथमिकता हो ।” १५ वर्षअघि जागृति एफएमबाट पत्रकारिता सुरु गरेका ३३ वर्षीय सांसद राजवंशीले कोशी एफएम, बिएफएममा पनि केही समय काम गर्नुभयो । त्यसपछि युएनडिपीको प्रोजेक्टमा अढाई वर्ष काम गरेका उहाँ पछिल्ला छ वर्ष नेपाल टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो । विराटनगरको पोखरिया माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरी सोही विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका राजवंशीले पत्रकारिता र राजनीतिशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गर्नुभएको छ । हाल स्नातकोत्तर अध्ययनरत सांसद राजवंशी २०७० सालदेखि भ्रष्टाचारविरुद्धको अभियानमा जोडिनुभएको हो । शासकीय सुधारबाट मात्र देशको विकास सम्भव हुने बुझेपछि उहाँ युवासँग जोडिएर ‘एन्टी करप्सन’ अभियानमा लाग्नुभयो । 

सांसद राजवंशी भन्नुहुन्छ, “सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर किनारको सडक लथालिङ्ग छ । निर्वाचन क्षेत्रभित्र पर्ने यो सडक कालोपत्रे गर्नुपर्ने छ । उहाँले रोजगार बैङ्क स्थापना गरी रोजगार सिर्जना गर्ने महिला दिदीबहिनीलाई सिपमूलक तालिम दिई श्रमसँग जोड्ने बताउनुभयो । 

तत्कालीन कटहरी गाविसका उपप्रधानपञ्च गङ्गाराम राजवंशीका नाति सन्तोष सामान्य किसान परिवारमा २०४९ साल पुस १२ गते जन्मनुभएको हो । हजुरबुवा गङ्गा बहुदल आएपछि नेपाली कांग्रेसबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित हुनुभयो तर उहाँका बुवा राजनीतिमा आउनुभएन । हाल कटहरीमै खेतीकिसानी गरेर बसेका सांसद राजवंशीका बुवा न्यून मध्यमवर्गीय परिवारका सदस्य हुनुहुन्छ ।   

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले हराएर संसद् भवन प्रवेश गरेका राजवंशीले ४० हजार ८३३ मत प्राप्त गर्नुभएको थियो ।