• २१ चैत २०८२, शनिबार

‘राजनीतिलाई आम्दानीको स्रोत बनाउनु हुँदैन’

blog

भैरहवा, चैत २१ गते । बुटवल उपमहानगरपालिका–११ की ५० वर्षीय मञ्जु ज्ञवाली भुसालका लागि राजनीति नौलो होइन । राजनीति उहाँले पारिवारिक विरासतमै पाउनुभएको हो । अर्घाखाँचीको साबिक चिदीका गाविस अर्थात् हालको छत्रदेव गाउँपालिकामा जन्मिनुभएकी मञ्जुको बाल्यकाल नै राजनीतिक दस्ताबेज र सामाजिक सेवा चर्चाहरूको बिचमा बित्यो । राजनीतिक माहोलमै हुर्केकी भुसाल यतिबेला राजनीतिमा थप सक्रिय हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य भएसँगै उहाँको राजनीतिक जीवनमा नयाँ अध्याय थपिएको छ । 

व्यवस्थापन सङ्कायमा १२ कक्षासम्म अध्ययन गर्नुभएकी मञ्जुको राजनीतिक जग कति बलियो छ भन्ने कुरा पारिवारिक इतिहासले बताउँछ । उहाँका हजुरबुवा मानबहादुर ज्ञवाली २०२२ सालअगावै अञ्चलाधीश हुनुहुन्थ्यो । अझ रोचक त के छ भने, उहाँका दुई हजुरआमाहरू गीतादेवी ज्ञवाली र हिरादेवी ज्ञवालीले क्रमशः गुल्मी र अर्घाखाँचीमा प्रधानपञ्चका रूपमा नेतृत्व समाल्नुभएको थियो । बुवा मेघनाथ ज्ञवाली पनि बहुदलपछि गाविस उपाध्यक्ष हुनुभयो ।

महिलाले घरको चौघेरा नाघ्न मुस्किल हुने त्यो समयमा दुई÷दुई जना हजुरआमाले गाउँको नेतृत्व गरेको देख्दा मञ्जुमा बाल्यकालमै एउटा हुटहुटी जाग्यो, “मैले किन नेतृत्व नगर्ने ?” त्यही हुटहुटीले उहाँलाई ११ वर्षकै उमेरमा राष्ट्रियता र सामाजिक उत्तरदायित्वका विषयमा 

घोत्लिन बाध्य बनायो ।

मञ्जुको राजनीतिक यात्रा कुनै एउटा दलमा मात्र सीमित रहेन । २०५१ सालमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेकी मन्जुले तरुण दल र कांग्रेसको गाउँ सचिवसम्मको जिम्मेवारी समाल्नुभयो । समाज परिवर्तनको तीव्र वेग खोजिरहेकी मञ्जु २०५९/६० तिर तत्कालीन नेकपा (माओवादी) जनयुद्धको प्रभाव र पारिवारिक निकटताका कारण वामपन्थी राजनीतिमा होमिनुभयो ।

समयको अन्तरालसँगै नेकपा (एमाले) हुँदै जेनजी आन्दोलनपछि उहाँले एमाले परित्याग गर्नुभयो । निर्वाचनको दुई महिनाअघि मात्र रास्वपा प्रवेश गर्ने निर्णय गर्नुभयो । उहाँको छोटो तर अर्थपूर्ण निर्णयले उहाँलाई देशको नीति निर्माण गर्ने थलो संसद्मा पु¥याएको छ । मञ्जु केवल राजनीतिज्ञ मात्र हनुहुन्न, एक सफल व्यवसायी र सामाजिक अभियन्ता पनि हुनुहुन्छ । उहाँ नेपालका ७७ जिल्लामध्ये निर्माण व्यवसायी सङ्घ रुपन्देहीको जिल्ला अध्यक्ष बन्ने एक मात्र महिला पनि हुनुहुन्छ । जेसिज, घरेलु तथा साना उद्योग महासङ्घ, र ट्रक व्यवसायी समिति जस्ता दर्जनौँ संस्थामा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ ।

उहाँ भन्नुहुन्छ, “मेरो परिवारले राजनीति गर्दा धेरै धनसम्पत्ति  सिध्यायो । त्यसैले म राजनीतिलाई आम्दानीको स्रोत बनाउनु हुँदैन भन्ने मान्यता राख्छु । राजनीति सेवा हो र जीविकोपार्जनका लागि पेसा व्यवसाय अनिवार्य छ ।” सांसदको शपथ लिएसँगै मञ्जुका काँधमा नयाँ जिम्मेवारी थपिएका छन् । उहाँ विशेष गरी नयाँ पुस्ता अर्थात् जेनजीका सपना पूरा गर्न प्रतिबद्ध देखिनुहुन्छ । उहाँ दृढताका साथ भन्नुहुन्छ, “आजको युवापुस्ताले खोजेको परिवर्तन, रोजगारी र भ्रष्टाचारमुक्त समाज नै मेरो पहिलो प्राथमिकता हो ।”

रुपन्देहीको जटिल सुकुमवासी समस्या समाधान, निर्माण क्षेत्रका नीतिगत अप्ठ्यारा हटाउने र अर्घाखाँची, गुल्मी तथा रुपन्देहीको विकासका पूर्वाधारमा विशेष ध्यान दिने उहाँको सङ्कल्प छ । श्रीमान् नारायणप्रसाद भुसालको निरन्तर साथ पाउनुभएकी मञ्जु अब संसद्को रोस्टमबाट नागरिकका आवाज बुलन्द पार्न तयार हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मैले सामाजिक अभियन्ताका रूपमा नागरिकसँगै रहेर उठाएका आवाज अब संसद्को रोस्टमबाट उठाउँछु र मतदाताको आवाज बोल्ने छु ।”  

Author
लक्ष्मण पौडेल

उहाँ गोरखापत्रका लागि भैरहवाबाट रिपोर्टिङ गर्नुहुन्छ ।