भैरहवा, चैत ११ गते । सेतो एप्रोन, गलामा स्टेथोस्कोप र हातमा बिरामीका फाइल समातेर स्वास्थ्य सेवामा तल्लीन डा. लेखजङ्ग थापाको पहिचान थियो । समयको चक्रसँगै अचेल उहाँको काँधमा अर्को जिम्मेवारी र पहिचान थपिएको छ ।
यही फागुन २१ गते भएको निर्वाचनमा रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसँगै डा. थापाको यात्रा अस्पतालको उपचार कक्षबाट संसद्सम्म पुगेको छ । सम्भवतः मुलुककै संसदीय इतिहासमा सर्वाधिक ५० हजार ३७९ मतान्तरले आफ्ना प्रतिद्वन्द्वीलाई पछाडि पार्दै जितको कीर्तिमान कायम गर्नुभएको छ । उहाँका भनाइमा यो जित केवल एउटा राजनीतिक उपलब्धि मात्र होइन, यो त एउटा चिकित्सकले बर्सौंदेखि जनतासँग गाँसेको आत्मीय सम्बन्धको परिणाम पनि थियो ।
सिद्धार्थनगर नगरपालिका–९ मा जन्मनुभएका डा. थापा चिकित्सा क्षेत्रमा स्थापित हुनुहुन्छ । काठमाडौँको महाराजगन्जस्थित नेसनल न्युरो सेन्टरमा न्युरोलोजी विभाग प्रमुखका रूपमा कार्यरत रहँदा पनि उहाँको मन सधैँ आफ्नै माटोमा अल्झिरह्यो । पछिल्लो १५ वर्षदेखि उहाँले एउटा नियम नै बनाउनुभएको थियो– साताको दुई दिन भैरहवा पुगेर बिरामीको सेवा गर्ने । भैरहवाको अञ्चलपुरमा उहाँले सञ्चालन गरेको न्युरो अस्पताल स्थानीयका लागि उपचारको मात्र होइन, भरोसाको केन्द्र बन्यो । सायद त्यही ‘भरोसा’ नै उहाँको राजनीतिक पुँजी बन्यो ।
डा. थापाको चुनावी प्रचार परम्परागत शैलीको थिएन । घरदैलोमा पुग्दा उहाँ केवल भोट माग्ने नेता मात्र बन्नुभएन, टोल टोलमा पुगेर मतदाताको स्वास्थ्य समस्या सुन्ने र परामर्श दिने ‘अभिभावक’ पनि बन्नुभएको थियो । उहाँले प्रयोग गरेका दुई वटा ‘लगबुक’ अहिले चर्चाको विषय बनेका छन् । ती लगबुकमा उहाँले आफ्नो क्षेत्रका हरेक घरको समस्या, स्थानीय आवश्यकता र जनताका अपेक्षालाई टिपोट गर्नुभएको छ ।
डा. थापा भन्नुहुन्छ, “यो जितले मलाई ठुलो जिम्मेवारी दिएको छ । मतदाताले मलाई केवल भोट दिएका होइनन्, आफ्ना समस्या समाधानको साँचो सुम्पिएका हुन् ।” डा. थापाको शैक्षिक र व्यावसायिक उचाइ लोभलाग्दो छ । पोखराको मणिपालबाट एमबिबिएस र चितवनबाट एमडी गर्नुभएका उहाँले साउथ एसियन युनिभर्सिटीबाट अटिजममा पिएचडी गर्नुभएको छ । सन् २०२४ मा मात्रै उहाँले विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालयबाट ‘सेफ्टी क्वालिटी लिडरसिप एन्ड इन्फरमेटिभ’ विषयमा उच्च शिक्षा हासिल गर्नुभएको छ । नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्षसमेत रहनुभएका उहाँ पक्षाघात जस्तो जटिल रोगविरुद्धको अभियानमा सक्रिय हुनुहुन्छ ।
डा. थापाले संसद्मा नागरिकका अपेक्षालाई नै आफूले प्राथमिकताका साथ उठाउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “देशभरको उपचार प्रणालीमा सुधार र गुणस्तरीय शिक्षा मेरा मुख्य प्राथमिकता हुन् ।” उहाँले भैरहवाको लाइफलाइन मानिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र स्थानीय उद्योग/व्यवसायको प्रवर्धन र विकासका मुद्दालाई अगाडि बढाउने पनि बताउनुभयो । उहाँले जनताले दिएको यो जिम्मेवारी पूरा गर्न योजनाका साथ अगाडि बढ्ने सोच आफूले बनाएको बताउनुभयो ।
डा. थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गुरुङले आठ हजार ४३५ मत प्राप्त गर्नुभयो । पुराना र स्थापित दलका विभिन्न नेताको विरासत बोकेको यो क्षेत्रमा एक चिकित्सकको यति ठुलो मतान्तरको जितले राजनीतिमा स्वच्छ छवि र सेवाको महत्वलाई पुनः पुष्टि गरेको छ ।
२०८० असारमा रास्वपाको सदस्यता लिएर औपचारिक राजनीतिमा होमिनुभएका डा. थापाका लागि अबको बाटो सजिलो भने छैन । उहाँले लगबुकमा टिपेका हजारौँ समस्या र मतदाताले देखाएको अपार विश्वासलाई न्याय गर्नु नै उहाँको अबको मुख्य परीक्षा हुने छ ।