• २४ वैशाख २०८३, बिहिबार

‘इतिहासमा मात्र हामी गर्व गर्ने होइन’

नागरिकका लागि काम गर्नु हाम्रो दायित्त्व हो : सञ्चारमन्त्री डा. तिमिल्सिना

blog

गोरखापत्र प्रकाशनको १२६ औं वर्ष प्रवेशको अवसरमा संस्थानमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिना । तस्बिरः सागर बस्नेत

काठमाडौँ, वैशाख २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले नागरिकका लागि काम गर्नु गोरखापत्रको दात्यिव भएको बताउनुभएको छ । गोरखापत्र प्रकाशनको १२६ औं वर्ष प्रवेशको अवसरमा संस्थानमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री तिमिल्सिनाले यस्तो बताउनुभएको हो । 

मन्त्री डा. तिमिल्सिनाले भन्नुभयो, ‘‘हामी हरेक जनताको करबाट तलब खाने र सरकारको अनुदानबाट चल्छौँ  । सरकार भनेको को हो ?  सरकार भनेको नागरिक हो । सरकार भनेको कुनै व्यक्ति होइन । नागरिकले कर तिरेर हामीले सुविधा प्राप्त गर्छौँ । ती नागरिकका लागि काम गर्नु हाम्रो परम दायित्त्व हो । नागरिकको हित र देशको हितमा मैले चालेका हरेक कदमले कति योगदान गरेको छ ? नागरिकको हितमा काम गरेको छ कि छैन भनेर सोचेर अगाडि बढ्नुपर्ने समय आएको छ ।’’ 

मन्त्री तिमल्सिनाले संस्थानमा कार्यरत पत्रकार तथा कर्मचारीसहित सम्पूर्ण पाठकलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले संस्थान र यसका प्रकाशनलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । 

मन्त्री तिमिल्सिनाले भन्नुभयो, ‘गोरखापत्र संस्थान परिवारलाई गोरखापत्र प्रकाशनको १२६ वर्ष प्रवेशको हार्दिक बधाई तथा शुभकामा व्यक्त गर्न चाहन्छु । जुन संस्था र जुन प्रकाशनको जगमा उभिनुभएको छ । यसको हित नै तपाईं सबैको हित हो । संस्था र यसका प्रकाशनलाई बलियो बनाउँदा मात्र तपाईंहरु बलियो बन्नु हुनेछ ।’’

उहाँले आजको पत्रकारिता र गोरखापत्र प्रकाशनको समय फरक भएको उल्लेख गर्नुभयो । ‘‘गोरखापत्र सुरु हुनु र आजको पत्रकारितामा आकाश र जमिनको फरक छ । १२५ वर्ष अघि जे कामका लागि गोरखापत्र सुरु भएको थियो । आज त्यो अवस्था फरक छ’’, उहाँले भन्नुभयो, ‘काम एउटै हो । जनतालाई सुसूचित गर्ने एउटा प्रमुख जिम्मेवारी, तर त्यसमा निकै धेरै आयाम थपिएका छन् । निकै धेरै तौर तरिका विधि विधान फरक भएका छन् । आज सोच्ने बेला भएको छ । गोरखापत्र ती सम्पूर्ण परिवर्तनका बिचमा कहाँ उभिएको छ ?’’


मन्त्री डा. तिमिल्सिनाले आजको जनताको मागअनुसार गोरखापत्रका हरेक प्रकाशनले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले थप भन्नुभयो, ‘‘आजको मिडिया ल्याण्डस्केप, आजको जनताको माग र जनताको आशालाई गोरखापत्रले कसरी सम्बोधन गर्न सक्छ भनेर हरेक ‘पोजिसन’मा बसेर यो संस्थाका लागि काम गर्नेले सोच्नुपर्ने बेला भएको छ ।’’ 

इतिहासबाट गर्व गर्न लायक गोरखापत्रले भोलिका लागि सुन्दर इतिहास आजै निर्माण गर्नुपर्ने दायित्व रहेको बताउनुभयो । उहाँले हिजोको इतिहासमा मात्र गर्व गरेर नबस्न अनुरोध गर्नुभयो । 

मन्त्री डा. तिमिल्सिनाले भन्नुभयो,  ‘‘हामीले हाम्रो उपस्थितिलाई मात्र गर्व गर्ने गर्यौ भने अगाडि बढ्न सक्दैनौँ । गोरखापत्र र संस्थान आज जुन स्थितिमा छ त्यसको लेखाजोखा गरेर ‘रिभ्यू’ गरेर अगाडि बढ्नुपर्छ । १२५ वर्ष पूरा गरेको जगमा उभिएको प्रकाशन आज हुनुपर्ने कहाँ हो ? के कारणले हामी जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्न सकेनौँ ? त्यसको बारेमा हामीले ‘रिभ्यू’ गरेनौँ भने हाम्रो अगाडिको यात्रा सुखद् नहुन सक्छ । आज भोलिको इतिहास हो । हामी हिजोको इतिहासमा खुसी छौँ । भोलिका लागि आजलाई सुन्दर इतिहास निर्माण गर्नु हाम्रो दात्त्यिव हो ।’ 


उक्त अवसरमा गोरखापत्रमा प्रकाशित सन्थाल र हायु भाषा पृष्ठको सञ्चारमन्त्री तिमिल्सिनाले अनावरण गर्नुभयो । यी दुई भाषासँगै गोरखापत्रको नयाँ नेपाल पृष्ठमा प्रकाशन हुने राष्ट्र भाषाको संख्या ४९ पुगेको छ । नेपालीसहित अब गोरखापत्र ५० भाषामा समाचार सामग्री दिने सञ्चार माध्यम बनेको   छ । 

वार्षिकोत्सवको अवसरमा आयोजित पाँच किलोमिटर दौड प्रतियोगिताका विजेतालाई कार्यक्रममा पुरस्कार प्रदान गरिएको छ । ५ किलोमिटर पुरुष दौडमा नेपाली सेनाका सञ्जय श्रेष्ठ १४ मिनेट १४ सेकेन्डमा दूरी पार गर्दै प्रथम हुनुभएको हो । उहाँले पदक र नगद पुरस्कार प्राप्त गर्नुभयो । महिलातर्फ दौडमा पूर्णलक्ष्मी न्यौपानेले १९ मिनेट २४ सेकेन्डमा दूरी पार गर्दै प्रथम हुनुभएको हो ।

  

संस्थान कार्यालय धर्मपथमा आयोजित कार्यक्रममा सञ्चार मन्त्रालयको  संस्थान समन्वय शाखा प्रमुख निर्मला थापा, गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य लोकबहादुर चौधरी, गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनार बस्नेत, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक रमेशप्रसाद लम्साल, प्रशासन विभागका निर्देशक ताराबहादुर बस्याल, युवामञ्च मासिकका सम्पादक उमेशकुमार ओझा, मधुपर्क मासिकका सम्पादक तुलसीहरि कोइराला लगायत संस्थानका विभागीय र शाखा प्रमुखको उपस्थिति थियो । 

गोरखापत्र दैनिकका प्रधान सम्पादक बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपस्थित अतिथि र कर्मचारीलाई संस्थानका प्रशासन विभाग प्रमुख निर्देशक बस्यालले स्वागत गर्नुभयो । वि.सं. १९५८ वैशाख २४ गते सोमबार गोरखापत्र प्रकाशन भएको १२५ वर्ष पूरा भएर बिहीबार १२६ वर्ष प्रवेश गरेको छ ।