सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), वैशाख २४ गते । धनकुटाको हिलेस्थित श्री नं. २ वाहिनी अड्डामा वाहिनीपति ट्रफी–२०८३ सुरु भएको छ । वैशाख २३ गते बुधबारदेखि श्री नं. २ वाहिनी अड्डाको आयोजनामा महेन्द्र सैनिक शिविरको खेलमैदानमा प्रतियोगिता सुरु गरिएको हो ।
वाहिनीपति ट्रफी प्रतियोगिताको उद्घाटन श्री नं। २ वाहिनी अड्डाका वाहिनीपति रथी श्री दिवाकरविक्रम राणाले गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै उहाँले सकलदर्जाबीच सामूहिक भावना तथा ‘एस्प्रिट डी कोर’ को विकास, पृतनापति ट्रफीमा उत्कृष्ट नतिजा हासिल गर्ने र राष्ट्रका लागि सम्भावित उत्कृष्ट खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
वैशाख २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल, बास्केटबल, भलिबल, जुडो, बक्सिङ, तेक्वान्दो, कबड्डी, स्विमिङ र एथलेटिक्स गरी नौ विधाका खेल सञ्चालन हुने जनाइएको छ ।
प्रतियोगितामा धनकुटास्थित श्री नं. २ वाहिनी अड्डा र श्री भीमदल गण, सुनसरीस्थित श्री भगवतीदल गण र श्री भीमकाली गुल्म, मोरङस्थित श्री शिवदल गण, भोजपुरस्थित श्री नयाँ श्रीनाथ गण, सङ्खुवासभास्थित श्री इन्द्रदल गुल्म र श्री रणदल गुल्म तथा तेह्रथुमस्थित श्री शत्रुमर्दन गुल्मका खेलाडीको सहभागिता रहेको जनाइएको छ ।
प्रतियोगिता धनकुटाको हिलेस्थित ब्यारेक, सल्लेरी ब्यारेक र तल्लो टुँडिखेलमा सञ्चालन हुने श्री नं. २ वाहिनी अड्डाले जनाएको छ ।