केदार तिमल्सिना
बनेपा, वैशाख २४ गते । सरकारले दोस्रो चरणमा थप १७ लाख थान सवारीचालक अनुमतिपत्र (सवारी लाइसेन्स) को छपाइ सुरु गरेको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच क्युआर कोडसहितको स्मार्ट सवारी लाइसेन्स छपाइ गर्ने सम्झौता भई लाइसेन्स छपाइको काम सुरु गरिएको हो ।
सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराव तिमिल्सिनाले असार मसान्तभित्र थप १७ लाख थान लाइसेन्स छपाइ गर्ने सम्झौता भई काम सुरु भएको बताउनुभयो । उहाँले विभागसँगको पहिलो चरणको सम्झौताबमोजिम वैशाख पहिलो साता सम्झौताबमोजिमको १२ लाख थान लाइसेन्स छपाइ सकेर हस्तान्तरण गरिएको बताउनुभयो । “पहिलो चरणको १२ लाख सम्झौतामध्ये केन्द्रबाट अत्यावश्यक ३७ हजार ६९८ थान, ब्याकलग प्रिन्ट ११ लाख ३१ हजार ७५ थान र दैनिक प्रिन्ट ३१ हजार २२७ थान लाइसेन्स छपाई यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेका हौँ,” उपसचिव तिमिल्सिनाले भन्नुभयो । केन्द्र र विभागबिच छ महिनाभित्र १२ लाख सवारी लाइसेन्स छपाइ गर्ने गरी गत कात्तिक १२ गते सम्झौता भएको थियो । केन्द्रले विभागसँगको सम्झौताबमोजिम समयअगावै लाइसेन्स छपाइ सकेर हस्तान्तरण गरेको तिमिल्सिनाले बताउनुभयो ।
सरकारले हालसम्म बाँकी रहेका ब्याकलग सवारी लाइसेन्सको छपाइ सम्पन्न गर्नुका साथै दैनिक मागलाई प्राथमिकतामा राखी लाइसेन्स उत्पादन तथा छपाइको कामलाई छिटोछरितो सम्पन्न गर्न दोस्रो चरणको सम्झौता गरेको हो । उपसचिव तिमिल्सिनाले दोस्रो चरणको लाइसेन्स छपाइका लागि आवश्यक पर्ने कागजलगायतका कच्चा पदार्थ खरिदका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता भएको बताउनुभयो । उहाँले कम्पनीसँगको सम्झौता गरिएको कच्चा पदार्थ आउनका लागि दुई साता लाग्ने बताउनुभयो । उहाँले खरिद गरिएका कच्चा पदार्थ नआएसम्म तत्कालका लागि अत्यावश्यक र २४ घन्टे सवारी लाइसेन्स छपाइको काम हुने बताउनुभयो । “विभागसँगको दोस्रो चरणको सम्झौताबमोजिम हालसम्म १८८ थान अत्यावश्यक, दैनिक प्रिन्ट चार हजार ९१३ थान गरी कुल पाँच हजार १०१ थान लाइसेन्स छपाइ सकेर विभागलाई हस्तान्तरण गरेका छौँ,” उपसचिव तिमिल्सिनाले थप्नुभयो ।
उहाँले हाल अत्यावश्यक २११ थान, दैनिक प्रिन्ट तीन हजार ७६३ थान लाइसेन्स छपाइको प्रव्रिmयामा रहेको बताउनुभयो । उहाँले केन्द्रमा ब्याकलग लाइसेन्स ५० हजार ८९७ थान प्रिन्ट भइसकेको बताउँदै हस्तान्तरणको प्रव्रिmयामा रहेको बताउनुभयो । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच प्रतिथान लाइसेन्स १९५.१७ पैसामा छपाइ गर्ने सम्झौता भएको हो । यसै गरी केन्द्रले हुलाक व्यवस्था विभागसँग भएको सम्झौताबमोजिम हालसम्म ३० लाख थान हुलाक टिकट छपाइ गरेर हस्तान्तरण गरिसकेको छ । हुलाक व्यवस्था विभागसँग ६० लाख थान हुलाक टिकट छाप्ने विषयमा सम्झौता हुन बाँकी रहेको केन्द्रले जनाएको छ । हालसम्म जावा दाम, भैरव नाच र धुरकोट दरबार अङ्कित १०÷१० लाख थान हुलाक छपाइ सकिएको छ । त्यस्तै कृषि आनुवांशिक स्रोत, इन्डेमिक वनस्पति, धार्मिक र पर्यटकीय सम्पदा, प्रथम विश्वयुद्धमा भिक्टोरिया व्रmस प्राप्त गर्ने कुलवीर थापामगर र कर्णबहादुर रानामगर, प्रथम बाली प्रजानक कृषिविज्ञ नेत्रहादुर बस्न्यात र शिक्षा क्षेत्रको गरी थप ६० लाख थान टिकट छपाई बाँकी रहेको छ ।
राहदानी, बैङ्क नोटलगायतका वस्तुको छपाइबापत विदेशी मुलुकमा जाने रकमलाई स्वदेशमा नै रोक्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७४/७५ देखि सुरक्षण मुद्रण छापाखाना स्थापनाका लागि आफ्नो नीति तथा कार्यक्रममा बजेट व्यवस्थापन गरेर काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरमा सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रेस) निर्माणको काम सुरु गरेको हो ।