• २४ वैशाख २०८३, बिहिबार

मल बोकेर बारी जाँदा करेन्ट लागेर मृत्यु

blog

करेन्ट लागेर मृत्यु भएको घटनास्थल । तस्बिर सौजन्य : स्थानीयवासी

राजकुमार भट्टराई
खोटाङ, वैशाख २४ गते ।
मल बोकेर बारीमा जाँदै गरेका एक व्यक्तिको विद्युत् पोलबाट आएको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४४ वर्षीय आनन्द राईको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार ट्रान्सफर्मरबाट तार फुत्किएर पोलमा छोएपछि पोलबाट करेन्ट जमिनमा प्रवाह भएको थियो । मल बोकेर बारीतर्फ जाँदै गर्दा पोल नजिक पुगेका राईलाई सोही करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो ।

बुधबार साँझ करिब ५ बजेतिर करेन्ट लागेका राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक बस्नेतको नेतृत्वमा घटनास्थल पुगेको टोलीले मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ ।