• २४ वैशाख २०८३, बिहिबार

चिया अनुसन्धान केन्द्र सञ्चालन हुने

blog

इलामको कन्याममा निर्माण गरिएको चिया परीक्षण तथा अनुसन्धान केन्द्र । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), वैशाख २४ गते  । इलामको सूर्योदय नगरपालिका–७, कन्याममा निर्माण भएको चिया परीक्षण प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालन हुने भएको छ । केन्द्र सञ्चालनका लागि कोशी प्रदेश योजना आयोग, उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश र सूर्योदय नगरपालिकाबिच सहमति भएपछि सञ्चालन हुने भएको हो । 

कोशी प्रदेश सरकारको ७५ प्रतिशत र सूर्योदय नगरपालिकाको २५ प्रतिशत गरी १८ करोडभन्दा बढी लागनीमा निर्माण भई प्राविधिक जनशक्ति अभावका कारण सञ्चालनमा आउन नसकेको केन्द्रको सञ्चालनका लागि कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, कृषि मन्त्री इस्ताइल मन्सुरसहितको सहभागितामा भएको सहमतिपछि कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आवश्यक प्राविधिक जनशक्ति र उपकरण उपलब्ध गराउने भए पछि केन्द्र सञ्चालनमा आउने भएको सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले जानकारी दिनुभयो । 

प्रदेश सरकार उद्योग, कृषि तथा सहकारीमन्त्री मन्सुरी, प्रदेश योजना आयोगका उपाध्यक्ष निरौला, प्रदेश सचिव विष्णुप्रसाद कोइराला, लगानी प्राधिकरण कोशीका प्रमुख कार्यकारी अधिकृत सरोज कोइराला, उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, सूर्योदय नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकीय अधिकृत कोइरालासहितको प्रतिनिधि मण्डलबिच प्रदेश योजना आयोगमा भएको छलफलपछि २०७६ साल फागुन ८ गते प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सूर्योदय नगरपालिकाबिच भएको सम्झौता अनुसार उक्त केन्द्रको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) र चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालन कार्यविधि, २०८० ले तोकेबमोजिम सञ्चालन हुने नगरका कार्यवाहक नगरप्रमुख बरालले जानकारी दिनुभयो । उहाँले उक्त सहमतिपछि मन्त्रालयले प्राविधिक जनशक्ति उपलब्ध भएपछि ल्याबसहितको केन्द्र सञ्चालनमा आउने जानकारी दिनुभयो । 

सूर्योदय नगरपालिका र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) बिच भएको सम्झौता अनुसार कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आवश्यक पर्ने दक्ष जनशक्ति र उपकरण उपलब्ध गराउने भएको छ । केन्द्रको सञ्चालनका लागि अन्य सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गर्ने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिनुभयो । 

सहमति अनुसार चिया कृषक तथा चिया उत्पादनको सर्वेक्षण गरी हरियो पत्ती, तयारी चिया साथै चियामा हुन सक्ने रोग, विषादीका विषयमा सर्वेक्षण गर्न पहिलो चरणमा कोशी प्रदेश सरकार, सूर्योदय नगरपालिका र कोशी प्रदेश उद्योग वाणिज्य महासङ्घमार्फत कार्यव्रmम सञ्चालन गरिने छ । 

चिया परीक्षा प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालन कार्यविधि, २०८० (पहिलो, दोस्रो र तेस्रो संशोधनसहित) राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यताका लागि सरोकारवाला निकायबिच समन्वय गरेर कार्यान्वयनको सहमति भएको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष निरौलाले योजना आयोग, प्रदेश मन्त्रालय, नगरपालिका र नाष्टबिच भएको सहमति अनुसार केन्द्र सञ्चालनमा आउने जानकारी दिनुभयो । 

निर्माण सम्पन्न भएर पनि उपकरण र प्राविधिक जनशक्तिको अभावमा केन्द्रमा रहेको चिया परीक्षण ल्याब सञ्चालन नहुँदा उपकरण जीर्ण बन्ने र लगानी खेर गएको भन्दै आलोचनासमेत हँुदै आएको थियो । नगरपालिकाले २०८३ वैशाख १४ गते प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयलाई पत्र लेख्दै आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी केन्द्र सञ्चालनको पहल गर्न माग गरेको थियो । 

नगरप्रमुख प्रशासकीय अधिकृत कोइरालाले उक्त केन्द्रमा ल्याब सञ्चालनको काम सङ्घीय सरकाले गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नु भयो, “नगरपालिका र प्रदेशको लगानीमा संरचना बनेको छ, अब ल्याबको काम भने अन्तर्राष्ट्रियस्तरमा मान्यता पाउने गरी सङ्घीय सरकारले सञ्चालन गर्नु पर्छ ।” 

कार्यवहाक नगरप्रमुख बरालले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार संरचना निर्माण भएको र उक्त संरचना अन्तर्गत हाल चिया परीक्षणको कामबाहेक क्याफे, सेमिनार हल, अतिथि गृह, प्रशासनिकलगायतका कक्षको एकमुष्ट सञ्चालनका लागि भाडामा लगाइएको जानकारी दिनुभयो । 

चियाको राजधानी मानिएको सूर्योदयसहित इलाम जिल्ला देशकै सबैभन्दा बढी अर्थोडक्स चिया उत्पादन गर्ने जिल्लामा पर्छ । नेपालको चियाको ८० प्रतिशत हाराहारी बजार भारत भएका कारण चिया निकासी गर्दा परीक्षणका कारण चिया उद्योगी र व्यवसायीले झन्झट बेहोर्दै आउनु परेको छ । चिया भारत निकासी गर्दा परीक्षणमा लामो समय लाग्ने गरेको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार आयोजनाका क्षेत्रीय प्रमुख इन्द्र अधिकारीले नेपालमा वार्षिक ७५ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन भई स्वदेश तथा विदेशमा गरी वार्षिक १५ अर्ब रुपियाँँभन्दा बढीको आर्थिक कारोबार भइरहेको जानकारी दिनुभयो ।