• ८ वैशाख २०८३, मङ्गलबार

चम्किँदै जितगढी किल्ला

blog

भैरहवा, वैशाख ८ गते । केही समयअघिसम्म ओझेलमा थियो, ऐतिहासिक जितगढी किल्ला । त्यसैमा केही वर्षअघि तिनाउ नदीमा बनेको पुलको एउटा भाग किल्लानजिकै बनेपछि त्यहाँ अतिक्रमण सुरु भयो । केही समयमै अतिक्रमण तीव्र भयो र किल्ला नै छोपिने अवस्थामा पुग्यो ।

तर पछिल्ला दिनमा जितगढीको मुहार फेरिएको छ । बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि प्राथमिकतामा परेको जितगढीलाई राष्ट्रिय स्वाभिमान र पहिचानको महत्त्वपूर्ण स्थलका रूपमा विकास गर्न लागिएको छ । रुपन्देहीको बुटवल–१ स्थित जितगढी किल्ला ऐतिहासिक वीरताको प्रतीक मात्र होइन, अहिले आधुनिक संरचनासहित विकसित हुँदै गएको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा उभिएको छ । तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरी गौरवपूर्ण इतिहास बोकेको यो किल्ला पछिल्ला वर्षमा पुनर्संरचना र संरक्षणका कारण नयाँ स्वरूपमा देखिन थालेको हो ।

विसं १८७१–७२ मा इस्ट इन्डिया कम्पनीसँग भएको युद्धमा उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले यही क्षेत्रमा ऐतिहासिक विजय हासिल गरेको थियो । उक्त विजयले नेपाललाई उपनिवेश विस्तारबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ । यही ऐतिहासिक पृष्ठभूमिलाई उजागर गर्दै बुटवल उपमहानगरपालिकाले किल्लालाई व्यवस्थित पर्यटकीय स्थलका रूपमा विकास गर्न गुरुयोजना अनुसार काम अघि बढाएको छ । नगरप्रमुख खेलराज पाण्डेयका अनुसार जितगढीलाई राष्ट्रियस्तरकै नमुना गन्तव्य बनाउने लक्ष्यसहित संरचनात्मक तथा सौन्दर्यीकरणका काम तीव्र पारिएका छन् । हाल किल्लापरिसरमा नौ फिट अग्लो उजिरसिंह थापाको पूर्णकदको तामाको सालिक र ५५ फिट अग्लो टावरमा राष्ट्रिय झन्डा फहराइएको दृश्यले आगन्तुकको ध्यान आकर्षित गर्ने गरेको छ । किल्लाभित्र प्रवेश गर्दा कलात्मक प्रवेशद्वार र त्यससँगै लस्करै राखिएका सहिद सैनिकको अर्धकदका सालिकले इतिहासलाई जीवित बनाउने प्रयास गरिएको देखिन्छ । 

अङ्ग्रेजसँगको युद्धमा वीरगति प्राप्त गरेका १३ जना सैनिक अम्बर अधिकारी, वृषसुर थापा, कृपासुर थापा, सुर्जे थापा, भीमसेन देउजा, सुरवीर बोहरा, रणसुर बानियाँ, हंसवीर अधिकारी, नकुल बानियाँ, दलखम्ब थापा, वीरमञ्जन पाँडे, जुठे बस्नेत र शमशेर रानामगरको सम्मानमा निर्माण गरिएका सालिकले किल्लाको ऐतिहासिक महत्त्वलाई अझ सशक्त बनाएको छ । अतिक्रमण हटाएर उपमहानगरपालिकाले किल्लाको मौलिक स्वरूप संरक्षण गरेको छ भने हालसम्म आठ करोड १२ लाखभन्दा बढीको लागतमा विभिन्न संरचना निर्माण सम्पन्न भइसकेका छन् । यसअघि प्रारम्भिक चरणमा ५० लाख र त्यसपछिका वर्षमा थप एक करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो ।

जितगढीमा नेपाल–अङ्ग्रेज युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन विसं १८७१ वैशाख ७ का दिन रहेको आधिकारिक मितिलाई नै बुटवल उपमहानगरपालिकाको २०७४ चैत २६ मा बसेको नगर कार्यपालिका बैठकले विजय उत्सव दिवसका रूपमा मनाउन सुरु गरेको थियो । त्यसयता हरेक वर्ष जितगढी उत्सव मनाउँदै आइएको छ । पछिल्लो अवस्थामा किल्ला क्षेत्रमा दैनिक सरसफाइ, सूचना बोर्ड, ऐतिहासिक तस्बिर, नक्सा तथा पुरानो नेपाल झल्काउने सामग्री राखिएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई इतिहास बुझ्न सहज बनाएको वडा नं. १ का जनप्रतिनिधि अशोक राईले जानकारी दिनुभयो ।

गुरुयोजना अनुसार आगामी चरणमा जितगढी युद्ध सङ्ग्रहालय, सूचना केन्द्र, पुरानो बुटवललाई प्राचीन बजारका रूपमा पुनर्जीवन दिने तथा किल्लालाई मणिमुकुन्द सेन दरबार र नुवाकोटगढीसँग जोड्ने योजना अघि बढाइएको छ । समग्रमा ऐतिहासिक पहिचान जोगाउँदै आधुनिक पर्यटकीय पूर्वाधार थपिँदा जितगढी किल्ला लुम्बिनी प्रदेशकै प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखिन्छ । इतिहासकार सोमध्वज विष्टका अनुसार किराँत र लिच्छविकालदेखि किल्लाहरू व्यापक रूपमा बन्न थालेका थिए । पृथ्वीनारायण शाहले सुरु

गरेको एकीकरण अभियानपछि सुगौली सन्धि नहुन्जेलसम्मका समयमा पनि नेपालमा विभिन्न किल्ला बनेको पाइन्छ । छरिएर रहेका सांस्कृतिक, ऐतिहासिक महत्त्वका सम्पदामध्ये जितगढी पनि एक हो ।

जितगढी किल्लालाई बुटवल उपमहानगरपालिकाका यसअघिका प्रमुख शिवराज सुवेदीको नेतृत्वमा पर्यटकीय थलोका रूपमा विकास गर्ने गरी गुरुयोजना बनाएर काम सुरु भएको थियो । नेपाली सेनाले जितगढी किल्लाको संरक्षण र संवर्धनको काम सम्पन्न गरी दुई वर्षअघि बुटवल उपमहानगरलाई हस्तान्तरण गरेको थियो ।

यस्तो छ जितगढी किल्ला

पाँच सय वर्गफिट इलाकामा फैलिएको जितगढी पूर्वपश्चिम लम्बाइ २०५ फिट छ र चौडाइ करिब ५५ फिट छ । गढीको जग निकै फराकिलो छ । गढीको गारो क्रमशः माथितिर साँघुरो हुँदै गएको छ । गढीको भित्री भागबाट पर्खालको उचाइ चार फिट तीन इन्च छ ।

१० इन्च चौडा रहेको भित्ताको मोटाइ आठ फिट चार इन्च रहेको र गढीको भित्री भाग खुला रहेको छ । त्यहाँ करिब १२ लाखदेखि १५ लाख इँटा प्रयोग भएको अनुमान छ । इँटा केही १० इन्च वर्गाकारका तथा केही इँटाको लम्बाइ चौडाइ क्रमशः ८.६ इन्च, छ इन्च बाई दुई इन्च रहेको छ । गढीको निर्माण शैली भने अन्य प्राचीन गढी जस्तै छ । गढीको वरिपरि युद्धको सुविधाका लागि विभिन्न किसिमका प्वाल निर्माण गरिएको छ । पुरातात्त्विक र ऐतिहासिक महत्त्व बोकेको यो गढी १६ औँ शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ । यो गढी तिनाउ नदीको किनारमा अवस्थित छ ।

  

Author
लक्ष्मण पौडेल

उहाँ गोरखापत्रका लागि भैरहवाबाट रिपोर्टिङ गर्नुहुन्छ ।