• २३ माघ २०८२, शुक्रबार

आठौं परीक्षामा नेता त्रिपाठी र शुक्लाः कस्ले मार्ला बाजी ?

blog

नेता हृदयेश त्रिपाठी र सर्बेन्द्रनाथ शुक्ला ।

भैरहवा, माघ २३ गते । राजनीतिमा टिकिरहनु मात्र होइन, पटक–पटक मतदाताको परीक्षा दिनु पनि आफैंमा ठूलो चुनौती हो । २०४८ सालदेखि लगातार चुनावी मैदानमा उत्रिरहेका दुई नेता–पश्चिम नवलपरासीका हृदयेश त्रिपाठी र रूपन्देही –४ का सर्वेन्द्रनाथ शुक्ला यसपटक आठौँ पटक प्रतिष्पर्धामा हुनुहुन्छ । लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये यति लामो निरन्तर चुनावी यात्रामा रहेका यी दुई नेता अपवादकै रुपमा देखिन्छन् ।

त्रिपाठी सद्भावनाबाट जसपासम्म

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट जसपा नेपालका उम्मेदवार हृदयेश त्रिपाठीको राजनीतिक यात्रा २०४८ सालमा नेपाल सद्भावना पार्टीबाट सुरु भएको हो । सोही वर्ष प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका त्रिपाठी २०५१ र २०५६ मा पनि लगातार सद्भावनाबाटै विजयी हुनुभयो । 

२०५१ सालमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसकेपछि तत्कालीन २०५ सदस्यीय संसदमा ६ सिटसहित उपस्थित सद्भावना पार्टी पनि सत्ता राजनीतिको मैदानमा पुग्यो । मन्त्री बन्न पालैपालो पार्टी समेत फुट्यो ।

२०६४ मा उहाँ तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट निर्वाचित हुनुभयो भने २०७० मा पराजय भोग्नुभयो । २०७४ मा एमालेको सूर्य चिन्हमा संसद पुगेका त्रिपाठी २०७९ मा एमाले समर्थनमा जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बने पनि कांग्रेसका विनोद चौधरीसँग पराजित हुनुभयो । हालसम्म उहाँले पाँच पटक जित र दुई पटक हार बेहोर्नुभएको छ ।

त्रिपाठीलाई राष्ट्रिय राजनीतिमा चिनाउने श्रेय गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावना पार्टीलाई जान्छ । सार्वजनिक लेखा समितिमा सभापतिको जिम्मेवारी सम्हाल्दा उहाँले लाउडा, धमिजा विमान काण्डजस्ता ठूला प्रकरण उजागर गर्दै संसदीय निगरानीलाई सक्रिय बनाउनुभयो । यही कारण उहाँ संसदीय राजनीतिका प्रभावशाली खेलाडीका रूपमा स्थापित हुनुभयो ।

२०५४ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा वन तथा भूसंरक्षण मन्त्री बन्नुभएका त्रिपाठी त्यसपछि लामो समय मन्त्री बन्न पाउनुभएन । सद्भावना पार्टी भित्रको विवाद र पार्टी विभाजनपछि उहाँले आफ्नो साटो रामेश्वर रायलाई मन्त्री बनाउनुभयो ।

त्रिपाठी विभिन्न कालखण्डमा चार पटक मन्त्री हुनुभयो । तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि सद्भावना पार्टी पुनः विभाजित भयो । बद्री मण्डल राजाको सरकारमा गएपछि त्रिपाठी र राजेन्द्र महतोहरुले गजेन्द्र नारायण सिंहकी पत्नी आनन्दीदेवीलाई अध्यक्ष बनाएर पार्टी पुनर्गठन गरे । कांग्रेस एमालेसहित सात दलको आन्दोलनमा त्रिपाठी अग्रभागमै रहनुभयो ।

लोकतन्त्र पुनःस्थापनापछि २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका उहाँ मधेस आन्दोलनका बेला सरकार छाडेर आन्दोलनमै उत्रिनुभयो ।

मधेस आन्दोलन, दल विभाजन र एकीकरणका उतार–चढावबिच त्रिपाठी तमलोपा हुँदै राजपा, त्यसपछि एमालेसँग चुनावी सहकार्यसम्म आइपुग्नुभयो । मधेस राजनीतिलाई पूर्व–केन्द्रित मात्र होइन, पश्चिम तराईसम्म विस्तार गर्ने नेताका रूपमा उहाँलाई चिनिन्छ । प्रदेश २ लाई मात्र मधेस मान्ने प्रवृत्तिप्रति असहमति जनाउँदै उहाँले मधेसवादी दलसँग वैचारिक दूरी बनाउनुभयो । 

शुक्लाः जित निकाल्ने नेता

रूपन्देही क्षेत्र नम्बर ४ का सर्वेन्द्रनाथ शुक्ला पनि राजनीतिक रुपमा लामो समयदेखि निरन्तर सक्रिय हुनुहुन्छ । रूपन्देहीको दक्षिण भेग मर्चवार क्षेत्र विगतमा क्षेत्र ५, संविधान सभाको चुनावको बेला क्षेत्र नम्बर ६ र २०७४ यता क्षेत्र नम्बर ४ को रुपमा रहेको छ । 

यो क्षेत्रमा कुनै पनि दल र उम्मेदवारले लगातार संसदीय चुनाव जितेको रेकर्ड छैन । लगातार नभइ अन्तर पारेर नेपाल सद्भावना पार्टीले दुई पटक चुनाव जितेको छ । राप्रपा, तत्कालीन मधेशी जनअधिकार फोरम, तमलोपा र नेपाली कांग्रेसबाट एक एक पटक सांसद जितेका छन् ।

२०४८ सालदेखि लगातार उम्मेदवार बनेका ७६ वर्षीय सर्वेन्द्रनाथ शुक्ला ३ पटक विजयी त बन्नुभयो, तर लगातार नभइ अन्तर पारेर जित निकाल्ने गर्नुभएको छ ।  शुक्ला बाहेक अरु सांसद भने यहाँबाट अन्तर पारेर पनि दोहोरिन सक्नुभएको छैन । 

इन्जिनियरिङ पढाइ सकेर सरकारी जागीर समेत खाएका सर्वेन्द्रनाथ शुक्ला २०३४ सालमा जागीरबाट राजिनामा गर्नुभयो । जागीर छोडेपछि निजी क्षेत्रमा काम गर्नुभयो । प्रजातन्त्र पुनःस्थापनापछि शुक्ला राजनीतिमा क्रियाशील हुनुभयो । 

२०४७ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्य बनेका उहाँ २०४८ को संसदीय चुनावमा मर्चवार क्षेत्र अर्थात् तत्कालीन रुपन्देही –५ बाट चुनाव लड्न खोज्नुभयो । तर टिकट पाउनु भएन । 

पार्टी परिवर्तन गरी राप्रपाबाट उम्मेदवार बन्नुभयो । तर नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्तासँग पराजित हुनुभयो । संसदमा पुग्न नसके पनि २०४९ को स्थानीय चुनावपछि जिविस उपसभापति बन्नुभयो । २०५१ सालको चुनावमा शुक्ला फेरि राप्रपाबाट उमेदवार बन्नुभयो । त्यो बेला भने उहाँ संसदमा प्रवेश पाएर पटक पटक मन्त्री हुनुभयो । 

२०५६ सालको चुनावमा तेस्रो पटक राप्रपाबाट उम्मेदवार बन्नुभयो । सद्भावना पार्टीका यज्ञजित शाहसँग भने पराजित हुनुभयो । केआइ सिंहका छोरा शाह त्यसबेला कांग्रेसबाट टिकट नपाएर सद्भावना पार्टीबाट उम्मेदवार बन्नुभएको थियो । 

२०६० सालमा राजाको पालामा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा पनि शुक्ला मन्त्री बन्नुभयो । २०६३ सालमा लोकतन्त्र आएपछि उहाँले राप्रपा छाडेर महन्त ठाकुरले गठन गरेको तराई–मधेश लोकतान्त्रिक पार्टीमा आवद्ध हुनुभयो । सोही दलबाट २०६४ सालको संविधान सभाको चुनावमा उम्मेदवार बन्नुभयो । 

मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादवसँग पराजित हुनुभयो । सांसदमा पराजित बने पनि सोही कार्यकालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा मन्त्री बन्ने अवसर पाउनुभयो । 

२०७० सालको संविधान सभाको चुनावमा तमलोपाबाटै विजयी हुनुभयो । २०७३ सालमा तमलोपा, सद्भावना पार्टीसहित विभिन्न मधेशबादी दल मिलेर राष्ट्रिय जनतापार्टी गठन भएको थियो । २०७४ सालको चुनावमा शुक्ला राजपाबाटै उम्मेदवार बन्नुभयो । तर कांग्रेसको प्रमोद यादवसँग ११ हजारको फराकिलो अन्तरले पराजित हुनुभयो । 

२०७९ मा पनि शुक्ला महन्थ ठाकुर नेतृत्वकै लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेर रुपन्देही क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए । मर्चवार क्षेत्रमा लगातार ७ वटा चुनावमा उम्मेदवार बने पनि शुक्लाले तीन पटक जित निकाल्न सफल हुनुभयो । 

गोरखापत्रसँग कुरा गर्दै शुक्लाले यो आफ्नो अन्तिम चुनावी प्रतिष्पर्धा भएको बताउनुभयो । “संसद पूरा कार्यकाल टिकेको भए २०८४ मा म चुनाव नलड्ने मनस्थितिमा थिएँ, तर बिचैमा भङ्ग भएकाले म निर्वाचन लडेको हुँ”, उहाँले भन्नुभयो, “अब यो मेरा लागि अन्तिम चुनाव हो, तत्कालका लागि आवश्यकता भएरै म चुनावी प्रतिष्पर्धामा उत्रिएको हुँ ।”

अनुभवको भिडन्त

आठौँ पटक चुनावी मैदानमा उत्रिएका त्रिपाठी र शुक्ला दुवैको राजनीतिक यात्रा जित–हार, दल परिवर्तन र सत्ता–प्रतिपक्षको अनुभवले खारिएका छन् । निरन्तरता, लचकता र समयअनुसार राजनीतिक धार समात्ने क्षमताले यी दुई नेता अझै पनि प्रतिस्पर्धामा टिकिरहेका छन् । मतदाताले यसपटक अनुभवलाई रोज्छन् कि परिवर्तनलाई–त्यसको उत्तर खोज्न फागुन २१ सम्म पर्खन पर्ने हुन्छ । 

Author
लक्ष्मण पौडेल

उहाँ गोरखापत्रका लागि भैरहवाबाट रिपोर्टिङ गर्नुहुन्छ ।