हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), बैशाख २४ गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकाको कोरला नाकास्थित दसगजा क्षेत्रमा व्यवसाय गर्दैआएका स्थानीय, पर्यटक र ब्यवसायीलाई लक्षित गरी स्थायी र अस्थायी दुवै किसिमका शौचालय निर्माण गरिएको छ ।
कोरला नाकामा एउटा पनि शौचालय नहुँदा स्थानीय, पर्यटक र नाकामा सामान लिन आउने चालक र ब्यवसायीलाई समस्या भएपछि गाउँपालिकाले ६ वटा अस्थायी र चीन सरकारले ४ वटा पक्की शौचालय बनाउन सामग्री उपलब्ध गराएको कोरला नाका टेन्ट ब्यवसायी समितिका अध्यक्ष नगावाङ खेदुप गुरूङले बताउनुभयो ।
टेन्ट अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘शौचालय बनेपछि केही सहज भएको छ, यहाँ न्यूनतम आवश्यकताका धेरै समस्याहरू छन् ।’’ दसगजा क्षेत्रमा स्थायीयको ७० वटा टेन्टमा एकसय ४० ब्यवसायी, पर्यटक, भन्सारमा समान लिन आउने सवारीचालक, भरिया लगायतलाई आवश्यक पर्ने शौचालयको संख्या अझ अपुग भएको स्थानीय युवा ब्यवसायी पेमा छिरिङ गुरूङले बताउनुभयो ।
अस्थायी टेन्टको प्रयोग गरी बनाइएको शौचालय हावाहुरीबाट जोगाउन समेत हम्मेहम्मे भएपछि गाउँपालिकाले ब्लक, जस्तापातासहितको प्रयोगगरी निर्माण गरिएको छ ।
पर्यटकको सिजनमा एकै दिन हजारौँ स्वदेशी पर्यटक पुग्ने भएकाले दुर्गन्ध फैलिने जोखिमलाई ध्यानमा राख्दै खानेपानी, फोहोर ब्यवस्थापनमा समेत आवश्यक पहल भइरहेको गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरूङले बताउनुभयो ।
कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको मुस्ताङ भन्सार कार्यालयबाट सवारीसाधनमा भाडा तिरेर खानेपानी ढुवानी र चिनियाँ भन्सार कार्यालयबाट ट्याङ्करमा माग्नुपर्ने बाध्यता रहेको छ । कोरला नाकामा हाल सुरक्षा निकाय र आपतकालीन आश्रयका लागि निर्माण गरिएको १० कोठे प्रिफ्याब प्रविधिको अस्थायी भवन बाहेक अन्य सरकारी संरचना छैन ।
समुद्री सतहदेखि ४ हजार ६५० मिटर उचाइमा अवस्थित कोरला क्षेत्रमा करिब ६ सय रोपनी क्षेत्रफल रहेको छ । सन् १९६० को दशकमा चीनले तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएपछि खम्पा विद्रोहका कारण बन्द भएको यो नाका वि.सं. २०८० कात्तिक २७ गते औपचारिक रूपमा पुनः उदघाटन गरिएको हो ।
चालु आर्थिक वर्ष २०८२–८३ को भदौ ३० गतेदेखि नाका व्यावसायिक रूपमा सञ्चालनमा आएसँगै न्यूनतम आवश्यकताका बारेमा स्थानीयले तीनै तहका सरकारका प्रतिनिधिहरू लोमन्थाङ घुम्न गएको बेलामा माग गर्ने गरेका छन् ।