• २३ वैशाख २०८३, बुधबार

मधेश प्रदेश सरकारसँग बहुमत कायमै

blog

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ।

धर्बेन्द्र झा 

जनकपुरधाम, वैशाख २३ गते । मधेश प्रदेश सरकारमा सहभागी भएका जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारसँग बहुमत कायमै छ ।

प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेशको शाखा अधिकृत कृष्ण ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभएको थियो ।

विज्ञप्तिमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेश प्रदेश सरकारलाई वैशाख २२ गतेदेखि जनमत पार्टीले समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ । जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता चन्दन सिंहसहितका जनमत पार्टीका प्रदेशसभा सदस्यहरुले वैशाख २२ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको थियो । 

प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गर्दै जानकारी गराएको प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेशका सचिव नारायणप्रसाद दहालले जानकारी दिनुभयो । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । 

कानुनी व्यवस्थाअनुसार सरकारमा सहभागी कुनै पनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि मधेश प्रदेश सरकारसँग बहुमत कायम छ । 

मधेश प्रदेश सभामा हाल १०२ जना प्रदेशसभा सदस्य कायम रहेको र बहुमतको लागि ५२ जना प्रदेशसभा सदस्य चहिन्छ । मुख्यमन्त्री यादवसँग अहिले पनि सरकारमा सहभागी नेपाली कांग्रेसको २२ जना, जसपा नेपालको १८, नेपाली कम्युनिष्ट पार्टीको १५ र लोसपा नेपालको आठ जना प्रदेशसभा सदस्यको समर्थन छ । 

सरकारमा सहभागी दल बाहेक मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई प्रदेशसभामा नेकपा (एमाले) र नेपाल संघीय समाजवादी पार्टीले समर्थन जनाएको छ । जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेश प्रदेशमा सरकार ढाल्न र सरकार जोगाउने विषयमा नेताहरुको दौडधुप सुरु भए पनि नेकपा (एमाले) संसदीय दल मधेश प्रदेशका नेता सरोज यादवले आफूहरु सरकार गिराउने र बनाउने खेलमा नलागेको बताउनुभयो ।