• २४ वैशाख २०८३, बिहिबार

बैतडीमा कृषक पाठशाला : बारीमै तालिम र परामर्श

blog

जलवायुमैत्री कृषक पाठशाला स्थापनाका लागि सरोकारवालाहरु । तस्बिर : केशवराज भट्ट

केशवराज भट्ट

बैतडी, वैशाख २४ गते । बैतडीको सिगास गाउँपालिका–१ बचकोटमा किसानलाई बारीमै कृषि प्रणालीको व्यावहारिक ज्ञान दिने उद्देश्यले जलवायुमैत्री कृषक पाठशाला स्थापना गरिएको छ । 

रासायनिक मल तथा विषादीको प्रयोगमा कमी ल्याउँदै वैकल्पिक कृषि विधिमार्फत उत्पादन वृद्धि गर्ने लक्ष्यसहित यो पाठशाला सञ्चालनमा आएको हो । दिगो आम्दानी मार्फत महिला उद्यमीहरूको सशक्तिकरण परियोजनाअन्तर्गत उक्त पाठशाला स्थापना गरिएको हो ।

पाठशालाले कृषकहरूलाई तरकारी खेतीसम्बन्धी परामर्श दिने तथा रोग किराको नियन्त्रणका विधि अवलम्बन गर्दै उत्पादन वृद्धिमा सहयोग पुर्‍याउने  परियोजना प्रमुख भूपाल बोहराले बताउनुभयो ।

कृषि प्राविधिकले कृषककै बारीमा गई प्रयोगात्मक रूपमा बाली लगाउने र परम्परागत विधिसँग तुलनात्मक अध्ययन गर्ने भएकाले किसानलाई सिक्न सहज हुने र यस विधिले किसानलाई कक्षाकोठामा नलगी आफ्नै खेतबारीमा ज्ञान दिने भएकाले यो अत्यन्त व्यावहारिक रहेको बताउनुभयो ।

रासायनिक मल तथा विषादीको न्यूनीकरण गरी जलवायुमैत्री मलबाट उत्पादन वृद्धि गराउनु नै पाठशालाको मुख्य उद्देश्य रहेको परियोजनाका कृषि प्राविधिक दीपेश धामीले जानकारी दिनुभयो । तरकारी खेतीमा वैकल्पिक विधिबाट रोग किराको नियन्त्रण गर्न यो पाठशाला महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

यसअघि उक्त परियोजना अन्तर्गत सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा पनि कृषक पाठशाला सफलतापूर्वक सञ्चालन भइसकेको छ । सोही अनुभवका आधारमा बचकोटमा पनि यो कार्यक्रम विस्तार गरिएको र भविष्यमा थप स्थानमा पनि पाठशाला सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।