• २४ वैशाख २०८३, बिहिबार

अर्गानिक खेतीतर्फ महोत्तरीका किसानको बढ्दो आकर्षण

blog

गौशाला–३ नवराजपुरका तरकारी किसान दिपेन्द्र महतो। तस्बीर : अजय शाह

अजय शाह 

गौशाला (महोत्तरी), वैशाख २३ गते ।महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रमा किसानहरू अर्गानिक खेतीतर्फ आकर्षित हुन थालेका छन्।

सघन तरकारी खेती हुने बर्दिवास, गौशाला, औरही, रामगोपालपुर र भंगहा नगरपालिकाका दर्जनौँ गाउँबस्तीका किसानले विषादी र रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक खेतीलाई प्राथमिकता दिन थालेका हुन्।

तरकारी, तेलहन र उखुजस्ता नगदेबाली उत्पादन हुने यस क्षेत्रमा परम्परागत खनजोत र प्राङ्गारिक मलको प्रयोगबाटै सन्तोषजनक उत्पादन हुन थालेको किसानहरूको भनाइ छ।विषादीयुक्त तरकारीले जनस्वास्थ्यमा नकारात्मक असर पार्न थालेपछी आफूहरूले यसको प्रयोग छाडेको गौशाला–३ नवराजपुरका किसान दिपेन्द्र महतोले बताउनुभयो।

किसानका अनुसार झारपतिङ्गर, घरायसी फोहोर, ढैंचा तथा गाईवस्तुको गोबर र बाख्राको लेरी प्रयोग गरी सजिलै प्राङ्गारिक मल तयार गर्न सकिन्छ। यस्तो मलले माटोको उर्वराशक्ति कायम राख्ने र वर्षेनी मलको मात्रा घटाउँदै लैजान सकिने भएकाले प्रभावकारी रहेको अर्का किसान रामबाबु महतोले जानकारी दिनुभयो।

रासायनिक मल अभाव, गुणस्तरमा अनिश्चितता र बढ्दो परनिर्भरता जस्ता समस्याबाट बच्न पनि किसान अर्गानिक खेतीतर्फ उन्मुख भएको बताइएको छ।बालीमा लाग्ने रोग तथा किराको नियन्त्रणका लागि गाईको गहुँत, खरानी र पानी प्रयोग गर्ने विधि प्रभावकारी देखिएको बर्दिवास–१२ पशुपतिनगरका किसान अमृत महतो (भोला)ले बताउनुभयो।

किसानका अनुसार अर्गानिक उत्पादन स्वादिलो हुनुका साथै उपभोक्ताको रोजाइमा पर्न थालेको छ। २०७६ साल देखि सुरु गरिएको यस अभ्यासमा प्रारम्भिक वर्ष उत्पादन केही कम भए पनि पछिल्ला वर्षमा उत्पादन क्रमशः वृद्धि हुँदै गएको उनीहरूको अनुभव छ।

अर्गानिक उत्पादन बजारमा पुगेपछि तत्काल बिक्री हुने गरेको बर्दिवास–१० का किसान हरिबहादुर बलम्पाकीले बताउनुभयो। उपभोक्तासमेत अर्गानिक उत्पादन चिन्न सक्ने भएका छन्।

यस्ता उत्पादन प्राकृतिक आकार र रङ्गका हुने भएकाले पहिचान गर्न सजिलो हुने बर्दिवास–१ की उपभोक्ता सरिता अधिकारीको भनाइ छ। यस क्षेत्रमा अर्गानिक खेतीप्रति बढ्दो आकर्षणलाई राज्यले सहयोग गरे उत्पादनको गुणस्तर र बजार विस्तारमा थप टेवा पुग्ने सामाजिक सङ्घसंस्था, व्यवसायी तथा स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन्। 

यसैबीच, अर्गानिक मलको कारोबार गर्दै आएका औरही–२ का दिनेश यादवका अनुसार पछिल्ला दुई वर्षयता किसानको आकर्षण बढेसँगै उत्तरी क्षेत्रमा अर्गानिक मलको माग उल्लेख्य रूपमा बढेको छ। 

कृषि प्राविधिक ममता घिमिरेका अनुसार प्रारम्भिक चरणमा लागत केही बढी लागे पनि क्रमशः मलको आवश्यकता घट्दै जाने भएकाले अर्गानिक खेती दीर्घकालीन रूपमा कम लागत र लाभदायी हुने गर्छ। किसान र उपभोक्तामा यसको महत्वबारे चेतना बढ्दै जाँदा अर्गानिक खेती विस्तार हुँदै गएको उहाँको भनाइ छ।