• १६ वैशाख २०८३, बुधबार

पढ्दै कमाउँदै कृषिका विद्यार्थी

blog

टीकापुर समाचारदाता

टीकापुर, वैशाख १६ गते । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका स्नातक तह चौथोदेखि सातौँ सेमेस्टरका विद्यार्थी कक्षामा सिकेको कुरा बारीमा प्रयोग गर्दै कमाइ गर्न थालेका छन् । 

विद्यार्थीका लागि अनुदान मिलेपछि यसअघि पढ्दै खेती सिक्दै गरेका विद्यार्थी अब पढ्दै कमाउँदैको चरणमा पुगेका हुन् । अहिले टीकापुरस्थित कृषि विज्ञान सङ्कायको भवन वरपर विभिन्न जातका तरकारी फलिरहेका छन् । पाँच वटा समूहमा २० जना विद्यार्थीले यहाँ तरकारी खेती गरिरहेका छन् । विद्यार्थीले सामान्य प्रविधिको प्रयोग, अर्धउच्च प्रविधिको प्रयोग र उच्च प्रविधिको प्रयोग गरी प्लास्टिकका घर बनाएका छन् । इन्कुवेसन सेन्टरमार्फत विश्वविद्यालय अनुदान आयोगले ५० लाख रुपियाँको लगानीमा प्लास्टिकका घर बनाइएका हुन् । यसभित्र विद्यार्थीले लगाएका बेमौसमी तरकारी फलिरहेका छन् । 

अर्ध प्रविधियुक्त टनेलमा सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी छविलाल न्यौपानेले टमाटर खेती गर्नुभएको छ । उहाँले भन्नुभयो, “एउटा बोटले आठ किलोसम्म फल दिन्छ भन्ने पढेको छु । मैले  २१० बिरुवा लगाएको छु । हालसम्म एक क्विन्टल टमाटर बेचिसकेँ । अझै फलेको र फुलेको प्रशस्तै छ ।”   उहाँ अविलाश जातको टमाटर रङ र आकार टलक्क देखिने भएकाले बिक्रीमा सजिलो भएको बताउनुभयो । उहाँले परीक्षणका लागि छेउमा लगाएको मनीषा जातको टमाटरको बिरुवा पनि बढ्दै छ । 

छैटौँ सेमेस्टरमा उच्च प्रविधियुक्त घरमा टमाटर लगाएर अभ्यास, अध्ययन, उपचार सिकेको र उत्पादन बिक्रीबाट फाइदा लिन सकिने अनुभव भएको अर्का विद्यार्थी पुष्पा मन्नी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दुई बिघामा लौका, करेला छन् । छ कट्ठा जग्गामा रोजेली (अमिलो भिन्डी) लगाइएको छ । रोजेलीको पातबाट चिया बनाउन सकिन्छ । उहाँले छ क्विन्टल आलुको चिप्स बनाएर बजारमा  पठाएको पनि बताउनुभयो 

उपप्राध्यापक वसन्त भट्टराई भन्नुहुन्छ, “तेस्रो सेमेस्टरका हरेक विद्यार्थीलाई बालीको एउटा चक्र देखाउन एउटा प्लट दिइएको छ । अहिले १५ बिघा जमिनमा विद्यार्थीको खेती छ । अबको लक्ष्य माटोरहित तरकारी खेती गर्ने र सृजना जातको टमाटर खेती गराउने छ ।”

उहाँ विश्वविद्यालयले सैद्धान्तिक शिक्षा लिएर व्यवहारमा प्रयोग गर्ने, समुदायसँग जोडेर बजारीकरणसम्मको काम सिकाइ रहेको बताउनुहुन्छ । विद्यार्थी छविलाल न्यौपाने आफ्नोसँगै अरू साथीले फलाएको तरकारीसमेत लिएर हाटबजार जाने गरेको बताउनुहुन्छ ।  विश्वविद्यालयमा पढाइसँगै खेती र बजारसम्म जाँदा समय धेरै लाग्ने भएकाले बजार जाने विद्यार्थीको सङ्ख्या भने कमै छ । 

विद्यार्थी नै कमाउन लाग्ने कार्यक्रम यसै वर्षबाट सुरु भएकाले कति कमाउँछन् भन्ने कुरा अहिले यकिन छैन । अहिले खेती गरिरहेका विद्यार्थीले पढाइ पूरा गरेपछि समुदायमा जाने र यी परियोजना नयाँ विद्यार्थीले प्रयोग गर्न पाउने विश्वविद्यालयले जनाएको छ ।