खलङ्गा समाचारदाता
जाजरकोट, वैशाख १६ गते । भेरी कोरिडोर क्षेत्रमा पर्ने पाँच वटा पुल विगत सात वर्षदेखि अलपत्र परेका छन् । भेरी कोरिडोरको जाजरकोट–दुनै–मरिमतिन्जे धो सडक अन्तर्गतका ती पुल अलपत्र परेका हुन् । पुल निर्माणको ठेक्का पाएको क्याराभान जेभीले समयमा काम नगर्दा पुल अलपत्र परेका हुन् ।
कम्पनीले भेरी नगरपालिका–४, पासागाड जिरो प्वाइन्टदेखि नलगाड नगरपालिका–१२, तल्लुबगर अन्तर्गत विभिन्न खोलामा पुल निर्माणका लागि भेरी कोरिडोरको जाजरकोट–दुनै–मरिमतिन्जे धो सडक आयोजनासँग २०७७ माघ २ गते निर्माण सम्झौता गरेको थियो ।
जाजरकोट–डोल्पा सहज रूपमा सवारीसाधन आउजाउ गरी जनतालाई यातायातमा पहुँच बढाउन सरकारले नलगाड नगरपालिका–५, झुप्राखोला, नलगाडखोलामा पुल निर्माणका लागि १८ करोड ४३ लाख चार हजार रुपियाँमा वडा नं. ८ को मैदेखोला, वडा नं. ९ को तात्रगाडखोला, वडा नं. १० को तासुगाडखोलामा सम्झौता गरेको थियो । यस्तै क्याराभान रायमाझी जेभीले १३ करोड ५४ लाख ३८ हजार रुपियाँमा २०८० असार २९ गते थप अरू पुल निर्माण सम्पन्न गर्न सम्झौता गरेको थियो ।
भेरी कोरिडोर अन्तर्गत सडकखण्डमा कामको जिम्मा लिएका निर्माण व्यवसायीले बेवास्ता गरेका कारण पुल अलपत्र परेका छन् । पुल निर्माणका लागि ठेकेदारले २०८२ साउन १ गते पहिलो पटक थप गरेको म्यादमा निर्माण व्यवसायी निर्माण स्थलमा नपुगी म्याद सकिएको थियो ।
दोस्रो पटक २०८३ पुस ३० गते निर्माण सम्पन्न गर्न म्याद थपिएको छ । दुई पटक म्याद थप गरे पनि काम सुरु नहुँदा जाजरकोट–डोल्पा सडकखण्डमा आउजाउ गर्ने सर्वसाधारणले सास्ती
बेहोर्नु परेको छ । भेरी कोरिडोर जाजरकोट–दुनै–मरिमतिन्जे धो सडक आयोजनाका प्रमुख नरेशप्रसाद केसरीले भन्नुभयो, “पुल निर्माणका लागि जिम्मा लिएका निर्माण व्यवसायीले बेवास्ता गरेका कारण समस्या भएको छ । सर्वसाधारणले आउजाउमा सास्ती पाउने गरेका छन् ।”
उहाँका अनुसार पाँच वटा पुलमध्ये नलगाडखोलामा फाउन्डेसनको काम भएको छ । बाँकी चार वटा खोलामा काम नै सुरु नगरी करिब सात वर्ष बितेको छ । दुई पटक म्याद थपे पनि ठेकेदारले बेवास्ता गरेपछि कार्यालयमा बोलाएर काम नगरे सम्झौता तोड्ने चेतावनी दिएपछि नलगाडखोलामा काम थालिएको छ ।
खोलामा पुल नहुँदा जाजरकोट हुँदै डोल्पासम्म सवारीसाधन सिधा आउजाउ गर्न समस्या हुने गरेको छ । बर्खाको समयमा खोला बढेपछि जाजरकोटदेखि डोल्पासम्म सर्वसाधारणले करिब एक दर्जनभन्दा बढी सवारीसाधन चढ्नुपर्ने बाध्यता छ । सामान ढुवानीका लागि डोल्पा जाने सवारीसाधन बाटोमै अलपत्र अवस्थामा बस्ने गरेका छन् । नलगाड नगरपालिका–८ का कर्णबहादुर शाहले पुल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले काममा ढिलासुस्ती गरेपछि सर्वसाधारणले सास्ती पाएको बताउनुभयो । सरोकारवाला निकायको उदासीनताका कारण निर्माणमा ढिलासुस्ती गरेपछि नलगाड नगरपालिका–८ देखि १३ सम्म, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका अन्तर्गत गोतामकोट, दामाचौरलगायत डोल्पाका सर्वसाधारणले समस्या भोग्नु परेको छ ।
भेरी कोरिडोर कार्यालयका प्राविधिक नवराज शर्माले भेरी नगरपालिका–४, पासागाड जिरो प्वाइन्टदेखि डोल्पासम्म १४ वटा खोलामा पुल निर्माण गर्न स्रोत सुनिश्चितका लागि विभागमा पठाएको बताउनुभयो । आगामी आर्थिक वर्ष १४ वटा पुलको स्रोत सुनिश्चित हुने उहाँले आशा व्यक्त गर्नुभयो ।