• १६ वैशाख २०८३, बुधबार

बाँकेका चौध वटा वनमा डढेलो

blog

डढेलो नियन्त्रण गर्न बनाइएको अग्नि नियन्त्रण रेखा ।

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, वैशाख १६ गते । बाँकेका दुई चक्ला वनसहित १४ वटा सामुदायिक वनमा डढेलो लागेका कारण चार हजार पाँच हेक्टर क्षेत्रफल प्रभावित भएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । डिभिजन वन कार्यालय बाँकेका निमित्त प्रमुख सुशील सुवेदीले गत एक सातादेखि जिल्लाका विभिन्न १४ वटा वनमा सुरु भएको वनडढेलोका कारण चार हजार पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफल प्रभावित भएको बताउनुभयो । 

उहाँले वनडढेलोका कारण ती वनमा रहेका वन्यजन्तुको वासस्थानसमेत सङ्कटमा पर्न थालेको जनाउँदै डढेलो निभाउने प्रयास जारी रहेको जानकारी गराउनुभयो । 

निमित्त प्रमुख सुवेदीका अनुसार शमशेरगन्ज माथेमा चक्ला वन, भुवरभवानी चक्ला वन, झिँझरी महिला सामुदायिक वन, राप्तीपीडित गुलरी सामुदायिक वनलगायत १४ सामुदायिक वनमा डढेलो लागेको छ । उहाँले बाहिरी क्षेत्रमा लागेको केही स्थानको डढेलो निभाइए पनि भित्रभित्र र अग्लो ठाउँको वनमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको जनाउनुभयो । 

अहिले वन कार्यालयसँग रहेको दुई हजार लिटर पानी अटाउने क्षमताको ट्याक्टर र वनडढेलो नियन्त्रणका लागि तयार गरिएको १४ जनाको डढेलो नियन्त्रण दस्ताले राजमार्गआसपासका क्षेत्रमा मात्रै वनडढेलो निभाउन सकिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । 

जनशक्ति र स्रोत कम हुँदा समयमा डढेलो नियन्त्रण हुन नसकेको उल्लेख गर्दै निमित्त प्रमुख सुवेदीले सोही कारणले क्षति भइरहेको र डढेलो पनि फैलिँदै गएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा वनडढेलो नियन्त्रणमा लागि १४ जनाको डढेलो नियन्त्रण दस्ता निर्माण गरिएको छ भने दुई हजार लिटर पानी अटाउने क्षमताको ट्याक्टर तयार गरेर राखिएको छ । 

बाँकेमा करिब ५० हजार हेक्टर वनक्षेत्र रहेको जनाउँदै सुवेदीले डढेलो नियन्त्रणका लागि वनका भित्री भागसम्म जान सक्ने दमकल अति आवश्यक भएकाले दमकलको व्यवस्था गर्न माग गर्नुभयो । 

उहाँले बढ्दो खडेरीले वनका भित्री क्षेत्रमा डढेलो झन् बढेको उल्लेख गर्दै केही दिनभित्र पानी परेन भने वनडढेलो झनै धेरै ठाउँमा बढ्ने खतरा रहेको प्रस्ट पार्नुभयो । वनडढेलो नियन्त्रण गर्न डिभिजन वन कार्यालयले विभिन्न प्रकारका चेतनामूलक कार्यक्रम निरन्तर रूपमा जिल्लामा सञ्चालन गर्दै आएको र वनका उपभोक्ता तथा सामुदायिक वनका पदाधिकारीलाई पनि बेला बेला तालिम दिँदै आएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।