गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २१ गते । वसन्तकालीन आरोहणका लागि १७० जना पर्वतारोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म १२ वटा हिमाल आरोहणका लागि ४६ जना महिला र १२४ जना पुरुष गरी १७० जनाले अनुमति लिएका हुन् ।
आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमादब्लम चढ्न ३४ र सगरमाथा चढ्न ३३ जना छन् । आरोहण अनुमतिबाट शुक्रबारसम्म १० करोड ८७ लाख ३० हजार ९९ रुपियाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।
आरोहणका लागि विदेशी पर्वतारोही आउने क्रम सुरु भएसँगै सगरमाथालगायतका हिमालका आधारशिविर व्यवस्थापनको तयारीसमेत तीव्र रूपमा अघि बढेको छ । सगरमाथा आरोहणका लागि प्रमुख याम मानिने यस सिजनमा सगरमाथा र ल्होत्सेको चुचुरोसम्मै टोरी टाँग्ने कामका लागि हिउँ कुल्चने काम (क्षमापूजा) सम्पन्न भएको छ ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार आरोहणका लागि प्रमुख र सबैभन्दा चुनौतीपूर्ण मानिने हिमालको चुचुरोसम्म बाटो पहिल्याउनु अघि आरोहण सफलताका लागि क्षमापूजा गरेर आरोहणको ढोका खोल्ने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले आधारशिविर व्यवस्थापनसँगै आरोहणको पूर्वतयारी सुरु भएका छन् । आरोहणका क्रममा कुनै विपत्ति र समस्या नहोस् भन्ने कामनासहित बौद्ध धर्म विधि अनुसार लामाद्वारा क्षमापूजा सम्पन्न भएको छ । आठ जना अनुभवी शेर्पा (आइसफल डाक्टर) को समूह एक साताभित्र आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो पहिल्याउने काममा खटिन तयारी अवस्थामा छन् ।”
नेपाल पर्वतारोण सङ्घका अध्यक्ष फुरगेल्जे शेर्पाका अनुसार पटक पटक आवतजावतमा प्रयोग हुने र खुम्बु आइसफल हुँदै आधारशिविरबाट दोस्रो शिविरसम्म पुग्ने यो बाटो ल्होत्से र नुप्त्से हिमाल आरोहणका लागि समेत प्रयोगमा आउने भएकाले समय समयमा बिग्रिनुका साथै यो बाटो बनाउन धेरै भ¥याङ, डोरी र समय लाग्ने गरेको छ । मौसमले साथ दिए अबको २० दिनभित्र दोस्रो शिविरसम्मको बाटो तयार हुने उहाँको भनाइ छ ।
त्यस्तै दोस्रो शिविरदेखि चुचुरोसम्मको बाटो बनाउन यस वर्ष पर्वतारोहण सञ्चालक सङ्घले सेभेन समिट ट्रेक्स कम्पनीलाई जिम्मा दिएको छ । सेभेन समिटबाट चुचुरोसम्मको बाटो पहिल्याउन १० जना दक्ष शेर्पाको टोली सगरमाथा आधारशिविरतर्फ लाग्ने तयारीमा रहेको कम्पनीले जनाएको छ । मौसमले साथ दिएको खण्डमा आगामी मे १० तारिखसम्म सगरमाथाको शिखरसम्म बाटो खुलाएर आरोहण सुरु गर्ने तयारी रहेको छ ।