सुधा देव
भारदह (सप्तरी), चैत २१ गते । न्याय सेवालाई थप प्रभावकारी बनाउन उच्च अदालत जनकपुरको राजविराज इजलासले अदालत परिसरमा न्यायसम्बन्धी सन्देशमूलक स्लोगन राखेपछि सेवाग्राहीमा अदालतप्रतिको विश्वास थप बढेको छ।
“हामी अधिकार र न्याय कसैलाई बेच्ने छैनौँ, न्याय प्रदान गर्न ढिलाइ गर्ने छैनौँ, न्याय दिन इन्कार गर्ने छैनौँ” भन्ने स्लोगन अदालत भवनमा राखिएको छ। साथै, “हामी भ्रष्टाचार र अनियमितताप्रति शून्य सहनशीलता अपनाएका छौँ। कसैले सेवा लिँदा ढिलासुस्ती, मोलाहिजा गरेमा वा रकम माग गरेमा गुनासो सुन्ने अधिकारी-रजिस्ट्रारसमक्ष प्रमाणसहित पेस हुनुहोला” भन्ने अर्को सन्देश अदालत परिसरको होर्डिङ बोर्डमा राखिएको छ।
यी सन्देश राखिएपछि सेवाग्राहीमा अदालतप्रतिको विश्वास थप बढेको अधिवक्ता राजेन्द्रप्रसाद देवले बताउनुभयो।
उहाँका अनुसार अदालतले भ्रष्टाचाररहित निष्पक्ष न्याय दिने आशासहित सेवाग्राही अदालत पुग्ने गर्छन्। अदालतमा पनि समय–समयमा भ्रष्टाचारका विषय उठिरहँदा सेवाग्राहीमा निष्पक्ष, छिटो र सस्तो न्यायबारे एक किसिमको भय रहेको अवस्थामा अदालतले स्वयं भ्रष्टाचारविरुद्ध र निष्पक्ष न्यायका लागि स्लोगन सार्वजनिक गरेपछि विश्वास बढेको सेवाग्राही मो. हबीवले बताउनुभयो।
उहाँले भन्नुभयो, अदालत परिसरमै निष्पक्ष न्यायका लागि लेखिएका स्लोगनले सेवाग्राहीको मात्र नभई सर्वसाधारणको समेत अदालतप्रतिको विश्वास बढाएको छ।
आन्तरिक रूपमा गरिरहेको कामलाई अदालत भवन र परिसरका होर्डिङ बोर्डमार्फत सार्वजनिक गरिएको उच्च अदालत जनकपुर, राजविराज इजलासका रजिस्ट्रार लोकनाथ पराजुलीले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “सेवाग्राहीलाई निष्पक्ष, सस्तो र छिटो न्याय दिलाउन हामी निरन्तर काम गरिरहेका छौँ। अझै थप सुधार गर्ने प्रयास जारी छ। अदालतमा कामको चाप बढ्दो छ। सीमित भवन, स्रोत र साधनको अभावमा चाहेर पनि सबै काम प्रभावकारी रूपमा गर्न सकिएको छैन।”
विपन्न, पीडित र असहायका लागि अदालतमा बिहान १० देखि बेलुका ५ बजेसम्म निःशुल्क सेवा दिन वैतनिक कानुन व्यवसायीको व्यवस्था भए पनि कोठा र कार्यकक्ष सञ्चालनका लागि आवश्यक सामग्री नहुँदा छुट्टै कार्यालय स्थापना गर्न नसकिएको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, “वैतनिक कानुन व्यवसायीका लागि अदालतमै छुट्टै कार्यालय स्थापना गर्न पाए म्याद थमाउन, नक्कल झिकाउन तथा निवेदन लेख्नेसम्मका काममा लक्षित वर्गलाई सहयोग गर्न सकिन्थ्यो। त्यसका लागि जनशक्ति भए पनि कोठा र स्रोत–साधनको अभाव छ।”
पहिलाको तुलनामा पछिल्लो समय अदालतमा छिटो, सस्तो र निष्पक्ष न्यायका लागि थप पहल भइरहेको राजविराज उच्च बार एसोसिएसनका अध्यक्ष हरेराम यादवले बताउनुभयो।