सियोल, चैत २३ गते । दक्षिण कोरियाले यस वर्षको सुरुमा उत्तर कोरियातर्फ पठाइएका ड्रोन सम्बन्धी विवादमा पहिलो पटक स्पष्ट स्वीकारोक्ति गर्दै प्योङयाङप्रति खेद व्यक्त गरेको छ । राष्ट्रपति ली जे म्युङले सोमबार उक्त घटनालाई ‘गैरजिम्मेवारपूर्ण’ र ‘लापरवाह’ कदमका रूपमा वर्णन गर्दै यसले अनावश्यक सैन्य तनाव बढाएको बताउनुभयो ।
सुरुमा सियोलले जनवरीमा भएको ड्रोन घटनामा आफ्नो कुनै आधिकारिक संलग्नता नरहेको दाबी गरेको थियो र यसलाई निजी व्यक्तिको कार्य हुन सक्ने सङ्केत दिएको थियो । तर पछिल्लो अनुसन्धानले सरकारी निकायसँग सम्बन्धित व्यक्तिको संलग्नता पुष्टि गरेको राष्ट्रपति लीले मन्त्रिपरिषद बैठकमा जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय गुप्तचर सेवाका एक अधिकारी र एक सक्रिय सैनिक यस घटनामा संलग्न रहेको प्रमाणित भएको छ ।
उक्त घटनापछि उत्तर कोरियाले कडा प्रतिक्रिया जनाउँदै फेब्रुअरीमा यस्ता ड्रोन फेरि आफ्नो क्षेत्रमा प्रवेश गरे ‘भयानक परिणाम’ आउने चेतावनी दिएको थियो । प्योङयाङले जनवरीको सुरुमै ‘निगरानी उपकरण’ बोकेको ड्रोन खसालेको दाबी गर्दै त्यसका भग्नावशेषका तस्बिर सार्वजनिक गरेको थियो, जसमा क्यामेरा जडान भएको देखिएको थियो ।
राष्ट्रपति लीले केही व्यक्तिको लापरवाह निर्णयका कारण उत्पन्न तनावप्रति उत्तर कोरियासँग खेद प्रकट गर्दै यस्ता गतिविधि अत्यन्त सावधानीपूर्वक मात्रै सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले दक्षिण कोरियाको संविधानले निजी व्यक्तिलाई उत्तर कोरियालाई उक्साउन सक्ने कार्य गर्न निषेध गरेको स्मरण गराउँदै राष्ट्रिय सुरक्षा सम्बन्धी कुनै पनि कदम जिम्मेवार ढङ्गले चालिनुपर्ने धारणा राख्नुभयो ।
गत वर्षदेखि पद सम्हालेका लीले उत्तर कोरियासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहनुभएको छ । उहाँले आफ्नो पूर्ववर्ती प्रशासनको आलोचना गर्दै प्योङयाङतर्फ प्रचार सामग्री पठाउने जस्ता गतिविधिले तनाव बढाएको बताउँदै आउनुभएको छ । यद्यपि, उहाँका कूटनीतिक प्रस्तावमा उत्तर कोरियाबाट सकारात्मक प्रतिक्रिया आएको छैन ।
पूर्वराष्ट्रपति युन सुक येओलविरुद्ध भने गम्भीर आरोप लागेका छन् । उहाँमाथि उत्तर कोरियातर्फ ड्रोन पठाएर जानाजानी तनाव सिर्जना गरेको र त्यसलाई सैन्य शासन घोषणा गर्ने बहानाका रूपमा प्रयोग गर्न खोजेको अभियोगमा मुद्दा चलिरहेको छ । गत वर्ष अप्रिलमा महाभियोगपछि पदबाट हटाइएका युनलाई मार्सल ल घोषणा गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ ।
यसैबिच, उत्तर कोरियाली नेता किम जोङ उनले मार्चमा दिएको नीतिगत सम्बोधनमा दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण राज्य’ भन्दै पूर्ण रूपमा अस्वीकार गर्ने घोषणा गर्नुभएको थियो । उहाँले देशको आणविक कार्यक्रमलाई ‘अपरिवर्तनीय मार्ग’ भन्दै त्यसलाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि दोहोर्याउनुभयो ।
दुवै कोरियाबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । सन् १९५०-५३ को युद्ध शान्ति सन्धिबिना केवल युद्धविराममा समाप्त भएकाले दुवै देश प्राविधिक रूपमा अझै युद्धकै अवस्थामा छन् । त्यसैले दुवै देशमा अनिवार्य सैन्य सेवा लागु रहनुका साथै सानो घटनाले पनि ठूलो द्वन्द्व निम्त्याउने जोखिम कायमै रहेको देखिन्छ । रासस/एएफपी