• २१ चैत २०८२, शनिबार

साढे चार करोड लगानीमा ग्रामीण सडक कालोपत्रे र स्तरोन्नति

blog

लुहाम–पोखरी–सिम्क सडक निर्माण कार्यको स्थलगत अनुगमन गर्दै त्रिवेणी गाउँपालिका टोली। तस्बिर : शंकर केसी

शंकर केसी
सल्यान, चैत २१ गते ।
साढे चार करोड रुपियाँभन्दा बढी लगानीमा सल्यानको त्रिवेणी गाउँपालिकाका ग्रामीण बस्ती जोड्ने सडक कालोपत्रे तथा स्तरोन्नति गरिँदैछ। लुहाम–पोखरी–सिम्क सडक खण्डमा कालोपत्रे र स्तरोन्नतिको काम संघीय सरकार र गाउँपालिकाको साझेदारीमा अघि बढाइएको हो।

गाउँपालिकाका अनुसार उक्त सडकमा गाउँपालिकाको ८० लाख रुपियाँ र संघीय समपूरक अनुदानअन्तर्गत ८० लाख रुपियाँ गरी एक करोड ६० लाख रुपियाँको लागतमा कालोपत्रे तथा स्तरोन्नतिको काम भइरहेको छ। यसका अतिरिक्त शहरी विकास मन्त्रालयबाट थप तीन करोड रुपियाँको लगानीमा सडक विस्तार कार्यसमेत भइरहेको गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले जानकारी दिनुभयो।

दुईवटा निर्माण कम्पनीमार्फत काम सञ्चालन भइरहेको र हालसम्म करिब २० प्रतिशत भौतिक प्रगति भएको उहाँले बताउनुभयो। गाउँपालिका अध्यक्ष रावतको नेतृत्वमा शुक्रबार प्राविधिक टोलीसहित निर्माणाधीन सडकको अनुगमनसमेत गरिएको छ। अनुगमनका क्रममा निर्माण कार्यको गति, गुणस्तर र समयमै सम्पन्न गर्ने विषयमा सुझाव दिइएको थियो।

यस योजनाअन्तर्गत करिब तीन किलोमिटर सडक कालोपत्रे र पाँच किलोमिटर सडक स्तरोन्नति गरिने पालिकाले जनाएको छ।

त्रिवेणी गाउँपालिकामा यसै वर्ष लुहाम–मखनटाकुरी हुँदै दाङको तुलसीपुर जोड्ने सडक खण्डमा पनि शहरी विकास मन्त्रालयको तीन करोड रुपियाँको लगानीमा काम अघि बढिरहेको छ। यो योजना सम्पन्न भएमा सल्यानलाई दाङको तुलसीपुर सँग जोड्ने वैकल्पिक मार्ग स्तरीय बन्ने अपेक्षा गरिएको छ।

यस्तै, लुहाम–काभ्रा–कालिमाटी सडक खण्डमा ६ करोड रुपियाँको लागतमा पुल निर्माणको योजना पनि अघि बढाइएको छ। पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वयन हुने यो योजना केही दिनभित्रै सुरु हुने तयारी रहेको जनाइएको छ।

दीर्घकालीन महत्त्वका तथा नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका ठुला विकास निर्माण योजनालाई माथिल्लो तहका सरकार एवं साझेदार निकायसँगको सहकार्यमा अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ।