शालिग्राम नेपाल
चितवन, चैत २१ गते । चितवनको विभिन्न सामाजिक तथा राजनीतिक कार्यमा सक्रिय प्रभा ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक कोटाबाट प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित हुनुभएको छ ।
बारा जिल्लाको कोल्हवी नगरपालिका–४ मा ३९ वर्षअगाडि जन्मनुभएकी उहाँ अध्ययनको सिलसिलामा चितवन आउनुभएको थियो । चितवनलाई नै कर्म थलो बनाउँदै आउनुभएकी उहाँले नर्सिङमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । स्वास्थ्य क्षेत्रमा अध्ययन गरेपछि उहाँले यसैलाई पेसा बनाएर १३ वर्षदेखि नर्सिङमार्फत सेवा गर्दै आउनुभएको छ ।
स्वास्थ्य सेवामा काम गर्दा असहाय वर्गले उपचार गर्न नसकेको अवस्था बुझेपछि सिमान्तकृत चेपाङ समुदायलाई उपचारमा सहयोग गर्न थाल्नुभयो । उहाँले लायन्स क्लब भरतपुर सप्तरङ्गी, मानवसेवा आश्रममार्फत पनि सेवा गर्दै आउनुभएको छ । विभिन्न सङ्घ संस्थामा रहेर काम गर्दै उहाँमा राज्य संयन्त्रमै पसेर काम गर्ने इच्छा जागृत भयो, उहाँ भन्नुहुन्छ, “राजनीतिक दलमा आबद्ध भएर नीति निर्माण तहमा पुगी काम गर्ने इच्छा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा स्थापनाकालदेखि आबद्ध भएर काम गर्न थालेँ ।”
“स्वास्थ्य क्षेत्रमा आफूले काम गरेकाले यहाँ हुने बेथिति, शोषण, उपचारमा सबैको पहुँच नभएको देखेको छु । सरकारले गरेको नियम कार्यान्वयन नभएको पनि देखेको छु । त्यसलाई कार्यान्वयन गराउने दायित्व हाम्रो काँधमा आएको छ,” ढकालले भन्नुभयो ।
“भरतपुरको विभिन्न अस्पतालमा नर्सिङमार्फत सेवा गर्दै आएको छु,” उहाँले भन्नुभयो, “यहाँको विकृति राम्रोसँग देखेको छु । यो यहाँको मात्र होइन, नेपालभरिकै समस्या हो । त्यसलै अब नीति निर्माण गर्ने तहमा पुगेकाले त्यस्ता समस्या समाधान गर्न मेरो पहल हुने छ ।” आफूलाई प्राप्त जनमतलाई अधिकारका रूपमा नभई जनताले सुम्पिएको
‘गम्भीर उत्तरदायित्व’ का रूपमा ग्रहण गरेको छु ।
“जनताले मलाई दिनुभएको अमूल्य मतको समाज कल्याणका लागि प्रयोग गर्ने छु,” उहाँले भन्नुभयो, “मैले मुख्य गरी तीन वटा विषय प्राथमिकतामा राखेको छु ।” उहाँका अनुसार अस्पतालले १० प्रतिशत शøया निःशुल्क उपचारका लागि छुट्याउनु पर्छ । यो केही दिनभित्रै कार्यान्वयनमा लैजाने छौँ । “यस्तै गरी स्वास्थ्य बिमालाई व्यवस्थित गर्न थप नीति निर्माण गर्ने छौँ, बजेट भुक्तानीको समस्या देखिएको छ, भुक्तानीमा समस्या नआउने गरी व्यवस्थापन गरिने छ,” उहाँले भन्नुभयो ।
“न्यून पारिश्रमिकमा स्वास्थ्यकर्मीले काम गर्नु परेको छ । श्रम शोषणको अवस्था विकराल छ । यसलाई समाधान गर्ने पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । सरकारी सरह निजीमा काम गर्ने स्वास्थ्यकर्मीले पारिश्रमिक पाउनुपर्ने हुन्छ, त्यो कार्यान्वयन भएको छैन । अझैपछि नौ महिनासम्म निःशुल्क काम गर्नुपर्ने, पारिश्रमिक दिए पनि ज्यादै न्यून दिने गरेको पाएका छौँ, यसलाई समाधान गर्न मेरो पहल हुने छ,” उहाँले थप्नुभयो ।
देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाको प्रमुख तथा मेडिकल सुपरिन्टेन्डेन्ट क्षमता, योग्यता र विज्ञताका आधारमा नियुक्त हुने
बताउँदै उहाँले विगतमा गरिएका गलत अभ्यास रोकने बताउनुभयो ।
स्वास्थ्य क्षेत्रलाई नजिकबाट बुझेको बताउँदै उहाँले यसैलाई सुधार गर्ने योजना निर्माण गरेको बताउनुभयो । उहाँले समाजिक सुधारका योजनाका साथै पार्टीको वाचापत्रमा भएका कुरालाई व्रmमशः कार्यान्वयनमा लैजाने बताउनुहुन्छ ।