भौगोलिक विषमता, आर्थिक विपन्नता र अशिक्षाका कारण मानव विकास सूचकाङ्कमा नेपाल निकै पछाडि रहेको छ तर आफ्नो संस्कृति, परम्परा, जाति, भाषाका क्षेत्रमा भने सम्पन्न छ । नेपालमा बस्ने करिब १२५ जातजातिमध्ये अति विपन्न र अशिक्षित जातिको रूपमा मुसहर रहेका छन् । विश्वमा करिब ४० लाख मुसहर रहेको अनुमान छ । यो जाति तराईका जिल्ला अनि भारतको विहार, उत्तर प्रदेश, झारखण्ड, पश्चिम बङ्गाल र मध्यप्रदेशमा रहेका छन् । नेपालमा मुसहरको सङ्ख्या दुई लाख चालिस हजार जति छन् । यो कुल जनसङ्ख्याको ०.९ प्रतिशत हो । यो जातिमा ९८ प्रतिशत हिन्दु र दुई प्रतिशत अन्य धर्म मान्ने छन् । भारतका विभिन्न प्रदेशमा रहेका मुसहर जाति भने राजनीतिक चेत भएको देखिन्छ । कुनै समय जीतनराम माझी (मुसहर समुदायका) विहार प्रदेशका मुख्यमन्त्रीसमेत भएका थिए । राजनीतिक, आर्थिक, शैक्षिक क्षेत्रमा अति नै कमजोर नेपालका मुसहर आफ्नो धार्मिक, सांस्कृतिक प्रथामा भने निकै धनी छन् ।
परम्परागत रूपमा मुसा खाने भएकाले यो जातिको नाम मुसहर रहेको भनिन्छ तर मुसहरको उत्पत्ति स्थानका बारेमा आजसम्म पनि पूर्ण यकिन गर्न सकिएको छैन । यिनीहरू तराईमा रहने जातजातिमध्ये अति विपन्न र दलित जातिका रूपमा रहेको पाइन्छ । परापूर्वकालदेखि नै तराईका वन फडानी गरी बसोवास गर्दै आएका मुसहरको थर विभाजनका सन्दर्भमा भने मधेया, तिरहुतिया, कनौजिया, भुइया चार थर र गोत्र रहेको पाइन्छ । यिनीहरूले पुरानै परिपाटी अनुसार रीतिरिवाज चलाउँदै आएका छन् । जन्मदेखि मृत्युसम्मका संस्कार आफ्नै जातिका पुरोहितसँग गराउँछन् । दसैँ, तिहार, छठ, होली जस्ता पर्व मनाउनुका साथै विशेष गरेर यो जातिले चौठीचन, जितिया, सतुवाइन जस्ता मुख्य चाड मनाउँछन् । सतुवाइन चाडमा विभिन्न प्रकारका परिकार बनाउँछन् । रक्सी, बोका, कुखुराको मासुका साथै मुसाको मासुसमेत खाने प्रचलन छ । यो समुदाय अन्य जातजातिको तुलनामा सबै दृष्टिकोणले निकै नै पछाडि छन् । आर्थिक, सामाजिक, राजनीतिक सबै क्षेत्रमा यो जाति पिछडिएको छ । स्रोतसाधनविहीन भएकाले निकै नै कष्टकर जीवन बिताइरहेका छन् । यिनीहरूलाई भूमिहीन जातिका रूपमा पनि लिन सकिन्छ ।
हरेक समाज गतिशील हुन विभिन्न किसिमका प्रथा र संस्कारले सघाउँछन् । यो एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आइपुग्छ । मुसहरका संस्कारमध्ये जन्म, पास्नी, छेवर(चुडाकर्म), विवाह, मृत्यु संस्कार उल्लेखनीय छन् । जन्म संस्कारमा बच्चा जन्मेको १० औँ दिनमा बच्चाको नामकरण गरिन्छ । यसमा बच्चाको बुबाको महत्वपूर्ण भूमिका रहन्छ । बुबा नभएमा हजुरबुबा वा अन्य नातेदारबाट पनि यो कार्य गराउन सकिन्छ । बच्चा जन्मेको दिन समय बारको आधारमा नाम जुराउने प्रचलन छ । नामकरण गर्नुअघि पूजापाठ गरिँदैन तर नामकरणपछि भने पूजापाठ गरेर घर शुद्ध पारिन्छ । पास्नी यो जातिको अर्को महत्वपूर्ण संस्कार हो । हुन त हिन्दु समाजमा पास्नी सबैको साझा संस्कार हो । मुसहर जातिमा पास्नी संस्कारको आफ्नै महìव छ । यस जातिमा पनि बच्चा जन्मेको छ महिना पूरा भएपछि पास्नी गरिन्छ, जस अन्र्तगत बच्चालाई पहिलो पटक भात खुवाइन्छ । बढ्दो बजारीकरण अनि देखासिकीले गर्दा आर्थिक अवस्था अनुसार गर्ने प्रचलन बढ्दै छ । पास्नी गर्नुको मतलब बच्चा खाना खान योग्य भएको मानिन्छ । चुडाकर्म (छेवर) मुसहर जतिमा बच्चालाई गरिने अर्को महत्वपूर्ण संस्कार हो । छेवर केटाको मात्रै गरिन्छ । स्थानीय भाषामा यसलाई मुण्डन पनि भन्ने गरिन्छ । छेवर गर्दा बच्चाको मामाको प्रमुख भूमिका रहन्छ । मामाले बच्चाको कपाल काटिदिने, टिका लगाई पैसा/वस्तु उपहार दिने चलन छ । छेवरमा आफन्त छरछिमेकी बोलाई भोज गरिन्छ । विवाहसम्बन्धी आफ्नै मान्यता यो जातिमा रहेको पाइन्छ । यिनीहरूमा हाडनाता र पाँचौँ पुस्ताभित्र विवाह गरिँदैन । केही समय पहिलेसम्म बालविवाह गर्ने प्रचलन थियो । हाल १८ देखि २० वर्षमा विवाह गर्ने चलन चलेको छ । प्रेम विवाहको पनि प्रचलन बढ्दै छ । खास गरी मागी विवाह गर्दा एकअर्कालाई भेट गराई मन पराएपछि पूर्णिमा वा दसैँको समयमा केटा पक्षलाई घरमा बोलाई विवाहको दिन तय गरिन्छ । केटाकेटी दुवैलाई केटी पक्षका बुबाआमाले रातो टिका लगाई दिने प्रचलन छ । विवाह गरेर केटीलाई केटाको घरमा लगिन्छ । घर पु¥याएपश्चात् दुलहाले दुलहीलाई घरभित्र वोकेर लगिन्छ । बेहुलीलाई घर भित्र्याएपछि बेहुलाको आमाले आरती गरी पूजा गर्ने नियम छ ।
मुसहर जातिले मृत्यु संस्कारलाई पनि अत्यन्त महत्वका साथ पालना गर्छन् । व्यक्तिको मृत्युपश्चात् खोलाको किनारमा लगेर जलाइन्छ तर १४ वर्षभन्दा मुनिका व्यक्तिको मृत्यु भएमा भने खाल्टो खनेर गाड्ने गरिन्छ । यस समुदायको व्यक्तिको मृत्युमा सर्वप्रथम पहिले गाउँघर छरछिमेकीलाई खबर गरिन्छ । त्यसपछि शवलाई घर अगाडि आँगनमा राखिन्छ । मानिसहरू जम्मा भएपछि शवलाई घाट लगिन्छ । त्यसका लागि हरियो बाँस, सेतो कपडाको प्रयोग गरिन्छ । शव घाटतिर लैजाँदा उक्त घरको सदस्यले शव अगाडि अगाडि चामल, धान, खुद्रा पैसा छर्दै घाटसम्म लगिन्छ । शवलाई घाट लैजादा पुरुष मात्रै जान्छन् । शवलाई पुजारीले पूजा गरिसकेपछि सम्पूर्ण मलामीले फूलअक्षता शरीरमा चढाइ अन्तिम बिदाइ गरी श्रद्धाञ्जली दिन्छन् । चितामा चढाएको मृत शरीरमा भएको पुरानो कपडा निकाली सेतो कपडा ओढाइ सेतो धागोले तीन फन्का लगाइन्छ । दागबत्ती दिँदा आमाबुबाको मृत्युमा पहिला जेठा छोराले र पछि आफन्तले पनि दागबत्ती दिने चलन छ । १२ दिनसम्म किरिया बसी १३ औँ दिनमा पुजारी बोलाई काजकिरिया सम्पन्न गर्ने एक वर्षसम्म शुद्ध खाई बार्ने चलन छ । मुसहर परिवारको संरचना हेर्दा एकात्मक परिवार बढी रहेको पाइन्छ । यदाकदा संयुक्त पारिवारिक संरचना पनि देखिन्छ । आफ्नै मौलिक संस्कृति बोकेको मुसहर जाति पितृसत्तात्मक आधारमा चलेको छ । निर्णय प्रक्रिया बढी मात्रामा पुरुषकै चल्छ । नगन्यमात्रामा महिलाको पनि सहभागिता रहन्छ ।
दिनभद्री मुसहरको मूलदेवता हो । देवताको पूजा गाउँमा सबै जना मिलेर गर्छन् । यो पूजा धेरै जसो चैत, वैशाख र असार महिनामा गरिन्छ । पूजाका लागि दुई दिनसम्म माग्न हिँडिन्छ । यसरी माग्नुलाई ‘डाली’ भनिन्छ । मागेर प्राप्त भएको नगद र वस्तुबाट पूजाका लागि आवश्यक सामग्री किनेर तिथि तय भएको दिन पूजा गरिन्छ । पूजामा विभिन्न देवीदेवताको नाम लिई गोसाई खेल्छन् । मुसहर गीत गाएर पूजा सम्पन्न गरिन्छ । यसका साथै पितृदेवको पनि पूजा गरिन्छ । पूजामा देवतालाई दुध, दही, खिर, पान, सुपारी चढाउने चलन छ । विद्वान्को भनाइ अनुसार यिनीहरू भारतीय भूमिबाट १८ औँ शताब्दीमा नेपाल प्रवेश गरेको देखिन्छ । शारीरिक बनावटका आधारमा मात्र होइन, जातीय विशेषतामा पनि द्रविडसँग मुसहर जातिको मेल खान्छ । आधुनिकताले शिखर टेके पनि आर्थिक, राजनीतिक, शैक्षिक अवस्था भने यो जातिको कहाली लाग्दो छ । विशेष गरेर मजदुरीमा नै आश्रित यो जातिलाई सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा सरकारले संरक्षण गर्न अब ध्यान दिनु पर्छ । राज्यबाट अवसर प्रदान गरेमा उनीहरूको स्तर पक्कै पनि उठ्ने छ । मुसहरको समग्र विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाई एकीकृत सामुदायिक ढाँचाका कार्यक्रम लागु गर्न सकेमा यो जातिको उचित संरक्षण तथा विकास हुने देखिन्छ ।