शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
प्रवीणकुमार शर्मा
रौतहट, चैत २० गते । एसइई परीक्षाको दोस्रो दिन शुक्रबार रौतहटबाट मर्यादाविपरीत कार्यमा संलग्न तीन जना पक्राउ परेका छन्।
रौतहटको गरुडा नगरपालिका–४, गरुडा बजार क्षेत्रबाट विभिन्न विद्यालयमा एसइई परीक्षा दिइरहेका विद्यार्थीलाई ह्वाट्सएप समूहमा समावेश गरी परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर ल्याउन लगाई त्यसको उत्तर विद्युतीय अनलाइन माध्यमबाट पठाएर परीक्षाको मर्यादाविपरीत कार्यमा गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक जीवनकुमार मैनालीले जानकारी दिनुभयो।
पक्राउ पर्नेमा गरुडा नगरपालिका–७ का १८ वर्षीय चन्दन पटेल, वृन्दावन नगरपालिका–७ का २० वर्षीय रोहितकुमार पटेल र सर्लाहीको बलरा नगरपालिका–८ का १८ वर्षीय धिरज साह रहनुभएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मैनालीले बताउनुभयो।