हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), चैत २१ गते । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग मुस्ताङका भौतिक पूर्वाधार, जलवायु परिवर्तनको असर न्यूनीकरण, नापी समस्या तथा कोरला नाकामा पूर्वाधार विकासलगायत विषय आगामी बजेटमार्फत सम्बोधन गर्न माग गर्नुभएको छ।
शुक्रबार प्रधानमन्त्री शाहले गण्डकी प्रदेशका सांसदहरूसँग गरेको छलफलमा सांसद गौचनले गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत छुसाङ–घमी ५० किलोमिटर सडक कालोपत्रेलाई प्राथमिकता दिन अनुरोध गरेको बताउनुभयो।
त्यसैगरी, नापी समस्याका कारण मुस्ताङवासीले भोग्नुपरेको कानुनी झन्झट, हिमाली अर्थनीतिअन्तर्गत साना तथा मझौला व्यवसायीलाई राहत दिन भ्याटको सीमा १ करोड रुपियाँसम्म पु¥याउनुपर्ने, जिल्लाभित्र निर्माणाधीन तथा अलपत्र परेका भौतिक पूर्वाधार योजनाको ढिलासुस्तीबारे सूचीसमेत प्रधानमन्त्रीलाई बुझाइएको सांसद गौचनले जानकारी दिनुभयो।
सांसद गौचनले भन्नुभयो, “मैले अन्तरदेशीय व्यापारलाई सहज बनाउने गरी कोरला नाकाको पूर्वाधार विकासको विषय पनि उठाएको छु। समग्र मुस्ताङका प्राथमिक समस्या प्रधानमन्त्रीसमक्ष राखेको छु।”
कम वर्षा हुने, वर्षको पाँच महिना हिमपात हुने तथा भौगोलिक विकटताका कारण शिक्षा, स्वास्थ्य र विपन्न परिवारको जीवनस्तर उकास्ने कार्यमा परेको असरबारे प्रधानमन्त्री शाहले चासो दिएको उहाँले बताउनुभयो।
मुस्ताङ भन्सार कार्यालय, नेचुङमा सरकारी संरचना, कोरला नाकामा खानेपानीलगायत अन्य समस्याका साथै अध्यागमन कार्यालयलाई सहज बनाएर तिब्बतसम्म पर्यटक आवतजावतको सुविधा विस्तार गर्दा समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विषयमा पनि जानकारी गराइएको उहाँले बताउनुभयो।
सांसदसँगको भेटमा प्रधानमन्त्री शाहले बजेट विनियोजनमा विभेद नहुने बताउनुभएको सांसद गौचनको भनाइ छ। प्रधानमन्त्री शाहसँग गण्डकी प्रदेशका ११ जिल्लाका सांसदको भेटमा जिल्लागत समस्याहरू लिखित रूपमा पेस गरिएको थियो।