• २१ चैत २०८२, शनिबार

बलात्कारीलाई १८ वर्षको कैद सजाय

blog

ताप्लेजुङ जिल्ला अदालत । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, चैत २१ गते ।
ताप्लेजुङ जिल्ला अदालतले महिलालाई जबरजस्ती करणी गर्ने एक व्यक्तिलाई १८ वर्षको कैद सजाय हुने फैसला सुनाएको छ । जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै प्रतिवादीलाई कैद सजायसँगै सात लाख रुपियाँ जरिवाना हुने अदालतले शुक्रबार फैसला सुनाएको हो ।

जिल्ला अदालतका निमित्त स्रेष्तेदार रमेश तामाङका अनुसार आठराई त्रिवेणी गाउँपालिका–३ का सकुन भनिने सन्तकुमार आङ्बुहाङलाई उक्त कैद सजाय र जरिवानाको फैसला भएको हो । आङ्बुहाङमाथि गत २०८१ माघ २ गते जबरजस्ती करणीको मुद्दा अदातलमा दर्ता भएको थियो ।

मुलुकी फौजदारी संहिता २०७४ मा भएको बमोजिम उक्त कसुर अर्थात जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी देखिएपछि प्रतिवादीविरुद्ध अदालतले कैद सजाय सुनाएको हो । त्यस्तै सोही संहितामै भएको व्यवस्थाअनुसार जरिवानाको फैसलासमेत अदालतले गरेको निमित्त स्रेष्तेदार तामाङले जानकारी दिनुभयो ।