गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २१ गते । नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा यस पटक सिजाङ प्यानोरमा पनि आयोजना गरिएको छ । यस अन्तर्गत छ वटा चिनियाँ चलचित्र र वृत्तचित्र प्रदर्शन गरिने छ । महोत्सवमा चलचित्रका माध्यमबाट नेपाली दर्शकले चीनको चलचित्र बुझ्ने मौका पाउने विश्वास गरिएको छ ।
शुक्रबार छाया सेन्टरमा ‘स्नो लियोपार्ड’ प्रदर्शन गरिएको थियो । चलचित्रले मानव सभ्यता र प्रकृतिको सम्बन्धलाई दर्शाउन प्रयास गर्छ । स्नो लियोपार्ड (हिउँचितुवा) ले सिजाङमा गोठालाको जीवन अवस्थालाई प्रस्तुत गरेको छ । निर्देशक प्रेमा तासेडेनले चलचित्रले मानवजीवन र प्रकृतिबिचको अस्तित्वलाई उजागर गर्ने प्रयास गर्नुका साथै सिजाङमा
पारिस्थितिक क्षतिपूर्ति नीतिको प्रभावकारी कार्यान्वयनको पुष्टि गरेको छ । त्यस्तै शनिबार ‘होम अवे, होम क्लोज’, ‘लनर्स फ्रर्म दी टप अफ दी वल्र्ड’, ‘सनराइज ओभर दी प्ल्याटो’ गरी तीन वटा चलचित्र प्रदर्शन हुने छन् । आइतबार भने ‘डिसकभरिङ सिजाङ २०२६’ र ‘वारियर किङ’ प्रदर्शन हुने छन् ।
चलचित्रका माध्यमबाट दुई देशबिचको सम्बन्धलाई बुझ्न सजिलो हुने भएकाले सिजाङ प्यानोरमा आयोजना गरिएको प्रोफेसर झान सुनले बताउनुभयो । उहाँका अनुसार चलचित्रहरूले प्राकृतिक, सांस्कृतिक विशेषता र सामाजिक विकासलाई नेपाली दर्शकसामु प्रस्तुत गर्नुका साथै सिजाङको वास्तविक अवस्थाबारे बुझ्न पनि मद्दत पु¥याउँछ ।
फ्रान्सेली निर्देशक ज्याक मालाटेरेको चलचित्र ‘लनर्स फ्रम दी टप अफ दी वल्र्ड’ सन् २०२३ को उत्कृष्ट कृतिमध्ये एक हो । यो वृत्तचित्र शृङ्खला छिङघाई–सिजाङ पठारको शिक्षामा केन्द्रित रहेको छ । वृत्तचित्रले निङ्ची, सिगात्से र ल्हासाका विद्यालयबारे दर्शाउन खोजेको छ । विद्यार्थीले कसरी शिक्षा लिइरहेका र उनीहरूको विकासबारे उक्त वृत्तचित्रमा देखाउन खोजिएको छ । तिब्बती ओपेरा र परम्परागत नृत्य जस्ता जातीय सांस्कृतिक परम्परा कसरी सिक्छन् भन्ने कुरा पनि यसभित्र प्रस्तुत गरिएको छ ।
सन् २०२६ मा निर्माण भएको वृत्तचित्र ‘डिस्कभरिङ सिजाङ’ युवापुस्ताको कथामा आधारित छ । उक्त वृत्तचित्र अन्तर्राष्ट्रिय युवा दृष्टिकोणामा आधारित छ । चलचित्रले नेपाल, संयुक्त राज्य अमेरिका, रुस, इटाली, मोरक्को र कम्बोडिया जेनजीका कुरालाई समेटिएको छ । उनीहरूको स्थलगत भ्रमण, प्रत्यक्ष अनुभव र वास्तविक प्रतिविम्बमार्फत वृत्तचित्र निर्माण गरिएको छ । वृत्तचित्रले सामाजिक स्थिरता, आर्थिक विकास, पारिस्थितिक संरक्षण, प्राविधिक प्रगति, सांस्कृतिक सम्पदा र अन्तर्राष्ट्रिय आदानप्रदानलाई नयाँ युगमा कसरी लगेको भन्ने कुरालाई दर्शाएको छ । महोत्सवमा ‘वारियर किङ’ चिनियाँ महाकाव्य ‘दी लेजेन्ड अफ किङ गेसर’ बाट रूपान्तरित गरिएको एनिमेटेड चलचित्र हो । युवा जु रुको आगमनको यात्रालाई देखाइएको चलचित्र एक पौराणिक व्यक्तित्व जसले दुष्टलाई दण्ड, राम्रोलाई बढावा र मानिसको रक्षा गर्छ भन्ने भावनाले अभिप्रेरित रहेको छ ।
त्यस्तै ‘होम अवे, होम क्लोज’ सिजाङको मानवकथाका कुरामा केन्द्रित वृत्तचित्र हो । हङकङका एक युवकको मोबाइल फोटो स्टुडियो र फोटो वरिपरि वृत्तचित्र घुमेको छ । वृत्तचित्रभित्र युवकले अरूलाई अर्थपूर्ण सम्झना जोगाउन मद्दत गर्छन् । सिजाङ प्यानोरमाका चलचित्र तथा वृत्तचित्र पर्यटन बोर्ड र छाया सेन्टरमा निःशुल्क हेर्न पाइने छ ।