• २१ चैत २०८२, शनिबार

बजेट लेखन समिति गठन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २१ गते । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि औपचारिक रूपमा प्रक्रिया अगाडि बढाएको छ । अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता तय गर्नका लागि शुक्रबार बजेट लेखन समिति गठन गरेको छ । 

राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा बजेट लेखन समिति बनाइएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । सो समितिमा अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखलाई सदस्यका रूपमा चयन गरिएको छ ।

समितिका सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहनुभएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्मा पेस गर्ने बजेट वक्तव्यको मसौदा तयार गर्नका लागि सो समिति गठन गरिएको हो । 

समितिलाई आगामी आवको वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने, आगामी आवमा कार्यान्वयन गरिने आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण गर्न सहजीकरण गर्ने, संसद्का दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मसौदा तयार गरी पेस गर्ने कार्यक्षेत्र निर्धारण गरिएको छ । 

यस्तै आव २०८३/८४ को बजेट वक्तव्यको मसौदा तयार गरी पेस गर्ने समितिको कार्यक्षेत्र निर्धारण गरिएको छ । यो समितिले आगामी आवको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने र कार्यान्वयन गरिने आयोजना एवं कार्यक्रमको प्राथमिकीकरणमा सहजीकरण गर्ने कार्य गर्ने छ ।

गत माघदेखि राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ निर्धारण गरी आगामी आवको बजेट निर्माण प्रक्रिया अघि बढिसकेको थियो । आगामी आवको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्ने गरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको छ । 

प्रत्येक वर्ष जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार नयाँ सरकारले बजेट लेखनका लागि समिति गठन गरी प्रक्रिया अगाडि बढाएको हो ।