• २१ चैत २०८२, शनिबार

दुई कृति लोकार्पण

blog

काठमाडौँ, चैत २१ गते । साहित्यकार डा. देवेन्द्रप्रसाद भट्टका ‘काव्यऋषि मनिराजका अष्टदीप’ र ‘धर्तीमा झरेको दीप’ दुइटा कृति विमोचन भएका छन् । नेपाली साहित्य रचना, आध्यात्मिक चिन्तन र बौद्धिक ज्ञान एवं विचार विमर्श समेटिएका उक्त पुस्तक साहित्यकार प्राडा वासुदेव त्रिपाठी र वैष्णव परिषद् नेपालका अध्यक्ष स्वामी देवराज आचार्यले विमोचन गर्नुभएको हो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा सहभागी वक्ताले उक्त कृतिको प्रकाशनले साहित्य र समाज, वर्तमान शिक्षा, सामाजिक उत्तरदायित्व र आध्यात्मिक चिन्तनमाथि गहिरो सम्बन्ध बढाउने विश्वास व्यक्त गरेका छन् । 

अछामको घुघुरकोटस्थित कुमैस्थान निवासी साहित्यकार डा. भट्ट नेपाली भाषा र साहित्यका एक प्रतिष्ठित प्राध्यापक, अनुसन्धानकर्ताका रूपमा चर्चित हुनुहुन्छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नेत्र एटम, प्राडा नारायण गड्तौला, संस्कृत विभागका उपप्राध्यापक गोविन्द घिमिरे, प्राडा बद्री शर्मा बिनाडीलगायतले डा. भट्टको साहित्यिक यात्रा, कृतित्व र व्यक्तित्वका विषयमा टीकाटिप्पणी गर्नुभएको थियो । 

डा. भट्टद्वारा लिखित ‘अछामको होरी’ अनुसन्धानमूलक कृति चर्चित छ । यस कीर्तिले अछामको स्थानीय संस्कृति, परम्परा र जीवनशैलीको गहिरो अध्ययन प्रस्तुत गर्दै मौलिक पहिचानलाई राष्ट्रियस्तरमा उजागर गरेको पाइन्छ ।