किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबिर झोरी ?
रामजी के हाथ मे कनक पिचकारी,
सियाजी के हाथ अबिर झोरी !
जोगिरा सररर.......
पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त सद्भाव र रस मिसिएको मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) अब मिथिलामा सुनिन छाडिएको छ । हाम्रा संस्कृति, पर्व र परम्परामा सङ्गीतको पक्ष सशक्त रहँदै आएको पाइन्छ । तथापि सांस्कृतिक गाथायुक्त गीतको अभाव खड्कँदै गएको छ ।
वसन्तपञ्चमीसँगै होली (फगुवा) को सन्देश प्रवाह गर्न जोगिरा गाउने मिथिलाको पुरानो संस्कृति सङ्कटमा छ । जोगिरा गाउँदै सामाजिक सद्भाव र समानताको सन्देश दिने फगुवा मिथिला संस्कृतिको ठाउँमा उच्च ध्वनिका डिजे सङ्गीत र उच्शृङ्खल गीत गाएर मनाउन थालिएकोसमेत पाइन्छ । जसलाई आधुनिकताको नाम दिइन थालिएको छ ।
वैदिक सनातन धर्मावलम्बी अर्थात् हिन्दुहरूको प्राचीन चाडपर्वमध्ये महत्वपूर्ण पर्व हो– होली । होली पर्वको वर्णन नारद पुराण र भविष्य पुराण जस्ता ग्रन्थमा समेत उल्लेख छ । संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव कविको प्रिय विषय थियो ।
नेपाल र भारतमा विशेष महत्वसाथ होली मनाउने चलन रहेको छ । होली वसन्तको चाड, रङको पर्व, प्रेमको उत्सव आदि नामले परिचित छ । तराई खासगरी मिथिलामा फगुवा, होरी वा फागु भन्ने गरिन्छ । मिथिलामा होली र मिथिला मध्यमा परिक्रमाको सम्बन्ध जोडिएको छ । मिथिला मध्यमा परिक्रमाको समापन जनकपुर अन्तरगृह परिक्रमापश्चात् हुन्छ । जनकपुर अन्तरगृह परिक्रमा पूर्णिमाको दिन समापन हुन्छ । त्यसैले पूर्णिमाको भोलिपल्ट मात्र तराईमा होली मनाउने चलन रहेको छ । हिमाल र पहाडमा फागुन पूर्णिमाकै दिन होली मनाउने चलन रहेको छ ।
होलीको इतिहास त्रेतायुगसँग जोडिएको छ । होली महोत्सवको उत्पत्ति प्रसिद्ध महाकाव्य महाभारतमा फेला पार्न सकिन्छ । पौराणिक कथा अनुसार राजा हिरण्य काश्यपलाई छोरा प्रह्लादले विष्णुको आराधना गरेको मन परेको थिएन । त्यसैले छोरा प्रह्लादलाई मार्ने योजना अनुसार प्रह्लादलाई अग्निकुण्डमा हालेर मार्न बहिनी होलिकालाई आदेश दिए । होलिकालाई अग्निले पनि डढाउन नसक्ने वरदान प्राप्त थियो । प्रह्लादलाई काखमा लिएर अग्निकुण्डमा होलिका बस्दा भगवान् विष्णुको आशीर्वादका कारण प्रह्लाद बाँचे तर होलिका जलेर नष्ट भइन् । जब प्रह्लाद आगोबाट बाहिर निस्के, मानिसले उनलाई भलाइ र नम्रताको प्रशंसा व्यक्त गर्न रङ्गीन पानीले छर्किए । दुष्टमाथि सदाचारको विजय भएको स्मरण गर्न होली मनाउने चलन रहिआएको एकथरी मत छ ।
अर्को कथन अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दुध चुसाउन गएकी कंशकी सेना पुतनालाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीले यसै दिन जलाई आपसमा रङ र अबिर छरी खुसियाली मनाएका थिए । त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ पनि छ ।
वसन्तको सुरुवातका रूपमा मनाउने गरिन्छ– होली । १७ औँ शताब्दीका साहित्यले होलीलाई कृषि उत्सवका रूपमा पहिचान गरेको पाइन्छ । होलीले जाडोको अन्त्य, वसन्तको आगमन, विच्छेदित सम्बन्धलाई नवीकरण गर्ने, द्वन्द्वको अन्त्य गर्ने, आफूलाई भावनात्मक अशुद्धताबाट छुटाउने र प्रेमपूर्ण सम्बन्धको सुरुवात गर्ने दिनको सङ्केत गर्दछ । होलीले प्रेम र सद्भावको सन्देश प्रवाह गर्छ ।
होलीमा परिवार, आफन्त, छिमेकी र इष्टमित्र भेला हुने, एकअर्काकोमा जाने, खानपिन गर्ने, आपसमा रङ अबिर लगाउने र रमाइलो गर्ने चलन छ । ठुलोले सानोलाई रङ अबिर लगाएर स्नेह प्रकट गर्दै आशीर्वाद दिने र सानोले ठुलोलाई रङ अबिर लगाएर सम्मान प्रकट गर्दै आशीर्वाद लिने गरिन्छ । होलीमा उँचनिच, ठुलो–सानो, धनी–गरिबको भेदभाव नराखी एकअर्काप्रति आदर र सद्भाव दर्शाउँदै रङ र अबिर लगाउने गरिन्छ । त्यसैले पनि फागु वा होलीलाई सामाजिक सद्भाव पर्वका रूपमा लिइन्छ ।
फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्मका आठ दिन हर्षोल्लाससाथ होली मनाउने चलन छ । फागुन शुक्ल अष्टमीका दिन शुभसाइत पारेर राजधानी काठमाडाैँको वसन्तपुरस्थित हनुमानढोकामा चीर ठड्याएसँगै होली पर्व विधिवत् रूपमा सुरु हुन्छ । भक्तपुरको बाँसघारीबाट ल्याएको बाँस तथा गुह्येश्वरीबाट ल्याएको मयल रुखको हाँगालाई बिहान विशेष पूजा गरी ठड्याइने गरिन्छ । रङ्गीचङ्गी कपडा झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको अग्लो बाँसको तीनतले चीर ठड्याएसँगै हनुमानढोका दरबार क्षेत्रमा नेपाली सेनाको गुरुजुको पल्टनले तोप पड्काएर हर्षबढाइँ गरी अबिर छर्किई होली पर्वको स्वागत गर्ने प्रचलन छ । फागुन शुक्ल पूर्णिमाको साइतमा चीरलाई ढाली तानेर लगी टुँडिखेलको मध्यभागमा पु¥याएर दाह गरेर होली पर्व समापन गरिन्छ । होली समापनको दिन मिठा मिठा परिकार खाने, विभिन्न मनोरञ्जन गर्ने प्रचलन छ । तराई क्षेत्रमा भोलिपल्ट मात्रै होली मनाउने प्रचलन छ । राज्यले पनि तराई क्षेत्रमा भोलिपल्ट मात्रै होलीको उपलक्ष्यमा सार्वजनिक बिदा दिने प्रचलन बसालेको छ । होलीको उत्सव पहाडमा भन्दा तराईमा अझ धुमधामसाथ मनाउने प्रचलन छ । मिथिला मध्यमा परिक्रमाको सातौँ दिन महोत्तरीको भङ्गाहा नगरपालिका–९, कञ्चनवनमा परिक्रमा यात्रीले आपसमा रङ अबिर खेलेपछि तराई खासगरी मिथिलामा होली मनाउन थालिने परम्परा छ ।
कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग
कौन तालपर गोरिया नाचे कौन तालपर हम
जोगिरा सररर ...
तराईमा होलीको विशेष महत्व रहँदै आएको छ । पहिले पहिले तराईमा विशेष किसिमले जोगिर मनाउने गरिन्थ्यो । समूह बनाएर स्थानीय बाजागाजासहित जोगिरा गाउँदै घर घरमा जाने र होली खेल्ने चलन थियो । यद्यपि ग्रामीण भेगमा कहीँ कहीँ यो शैली कायमै रहेको छ ।
होलीमा खानपिन गर्ने हाम्रो परम्परा हो । होली खानपिनसँग पनि जोडिएको पर्व हो । यसकै बहानामा अत्यधिक रक्सी सेवन गर्ने, भाङ र गाँजा सेवन गर्ने चलन बढ्दो छ । यसले होलीलाई विकृत बनाउँदैसमेत लगेको छ । रसायनयुक्त रङ दल्ने, छ्याप्ने, जबरजस्ती रङ दल्ने जस्ता गतिविधि पनि बढ्दो छ । यस्ता कर्मले हाम्रो सांस्कृतिक विरासत र महत्वलाई घटाउने काम गर्छ ।