• ३० चैत २०८२, सोमबार

जनही २२ लाख ४४ हजार ५०० बिगो माग

प्रशासकीय अधिकृत आचार्य र आरके कन्स्ट्रक्सन सञ्चालक कार्कीविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

blog

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ।

गोरखापत्र अनलाइन

काठमाडौँ, चैत ३० गते । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य तथा आर.के. कन्स्ट्रक्सन कम्पनी सुर्खेतका सञ्चालक सुवास कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको छ । 

प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई २२ लाख ४४ हजार ५०० रुपियाँ बिगो तोकिएको छ । त्यस्तै, आरके कन्स्ट्रक्सनका सञ्चालक कार्कीलाई पनि सोही राशी २२ लाख ४४ हजार ५०० रुपियाँ बिगो तोकिएको छ । 

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आचार्यलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा सो बिगो तोकिएको हो । ऐनको दफा ३ को उपदफा (१)को (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ (१) बमोजिम बिगो जरिवाना सजाय गरी सोही ऐनको दफा १७ बमोजिम विगो असूलउपर हुन मागदाबी गरिएको छ ।

सोही अनुसार कन्स्ट्रक्सनका सञ्चालक कार्कीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसूरजन्य कार्यको नगद तथा अन्य प्रकृतिको गैरकानुनी लाभ लिने मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर भएको ठहर गर्दै सो राशीको विगो तय गरिएको प्रवक्ता न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह सजाय हुन माग दाबी गरिएको छ ।