• ३० चैत २०८२, सोमबार

निर्माण उद्योगमा आपतकाल घोषणा गरी अविलम्ब राहत दिन माग

blog

निर्माण व्यवसायी सङ्घ रौतहट । तस्बिर : गोरखापत्र

प्रवीणकुमार शर्मा 

रौतहट, चैत ३० गते । मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टीतेल लगायतका इन्धन सामग्रीमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले गर्दा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको भन्दै निर्माण व्यवसायी सङ्घ रौतहटले नेपाल सरकारसहित सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।

सङ्घले सोमबार विज्ञप्ति जारी गर्दै इन्धनजन्य सामग्रीसहित निर्माण कार्यमा प्रयोग हुने सिमेन्ट, छड, ढुङ्गा लगायतका निर्माण सामग्रीहरूको समेत निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि र बजारमा उक्त सामग्रीको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको जनाएको  छ । 

यसका साथै देशका विभिन्न ठाउँमा ठेक्का आयोजनामा देखिएको समस्याले निर्माण उद्योग थप समस्यामा परेको निर्माण व्यवसायी सङ्घ रौतहटका वरिष्ठ उपाध्यक्ष उपेन्द्रकुमार यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।

निर्माण उद्योगको विषम परिस्थितिका विषयमा महासङ्घ केन्द्रिय कार्यालयले पटक–पटक नेपाल सरकार लगायतका निकायहरूमा पहल गर्दा समेत समस्या समाधान हुन नसकेको रौतहट निर्माण व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष यादवले बताउनुभयो ।

ठेक्काको मूल्य समायोजन राष्ट्र बैँकको मूल्य सूचकाङ्क अनुसार हुने भएतापनि बजारमा निर्माण सामग्रीहरूको अत्यधिक मूल्यवृद्धि भएतापनि राष्ट्र बैँकको सूचकाङ्कमा उक्त सामग्रीहरूको मूल्य घटेको देखाउने प्रवृत्तिका कारण निर्माण उद्योगमा थप सङ्कट देखिएको उहाँले बताउनुभयो ।

 इन्धनसहित निर्माण सामग्रीहरूमा निरन्तर भइरहेको अत्यधिक मूल्यवृद्धि र उपलब्धताको अभावले निर्माण व्यवसायीहरूमा ठुलो आर्थिक भार परेको हुँदा निर्माण उद्योगमा आपतकाल घोषणा गरी व्यवसायीहरूलाई अविलम्ब राहत दिन सङ्घले जोडदार माग समेत गरेको छ ।

साथै, प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुसार हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने हुँदा मूल्य समायोजन मार्ग निर्देशिका–२ तत्काल जारी गरी सबै अवरुद्ध ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीहरूको समस्या तुरुन्त समाधान गर्न निर्माण व्यवसायी सङ्घ रौतहटले सरकार समक्ष अपिल गरेको छ ।