वासुदेव शर्मा
जाजरकोट, चैत २९ गते । जाजरकोटमा ग्यास सिलिण्डरबाट सल्केको आगोमा परी गम्भीर घाइते भएका तीन जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । नलगाड नगरपालिका–२, छेप्कास्थित थालुप्रसाद जैसीको घरमा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा गम्भीर घाइते भएका माया जैसी, रुपा जैसी र गणेश गौतमलाई हेलिकोप्टरद्वारा उद्धार गरिएको हो ।
आइतबार बिहान ग्यास बाल्ने क्रममा अचानक आगलागी भएको थियो । दुर्घटनामा थालुप्रसाद जैसीकी ४२ वर्षीया श्रीमती माया जैसी, ३७ वर्षीया साली रुपा जैसी र २२ वर्षीय छोरा गणेश गौतम गम्भीर घाइते हुनुभएको छ ।
गम्भीर घाइते तीनै जनालाई नलगाड नगरपालिका–७ स्थित नगर अस्पताल दल्लीमा प्राथमिक उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी दीपेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।
स्थानीय राजन गौतमका अनुसार सुरुमा हेलिकोप्टरले काठमाडौँसम्म पुर्याउन १२ लाख रुपैयाँ भाडा मागेपछि मोटो रकम अभावमा नेपालगञ्जसम्म ४ लाख ५ हजार रुपैयाँ तिरेर जहाजमार्फत काठमाडौँ लैजाने तयारी गरिएको थियो । तर, घाइतेहरूको अवस्था निकै गम्भीर रहेकाले पछि सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको सूचना अधिकारी शाहीले बताउनुभयो ।