• २९ चैत २०८२, आइतबार

‘मेरो ध्यान सीमान्तकृतको आवाजमा हुने छ’

blog

दाङ, चैत २९ गते । घोराही उपमहानगरपालिका अन्तर्गतको मसिनाको एक सामान्य घरबाट सुरु भएको यात्राले साजिता सिद्धिकीलाई अहिले संसद्को ढोकासम्म पु¥याएको छ । झन्डै दुई दशकदेखि महिला अधिकार र सामाजिक न्यायका पक्षमा उभिँदै आएकी यी अभियन्ता अब प्रतिनिधि सभा सदस्यको भूमिकामा देखिनुभएको छ । 

नेकपा (एमाले) ले उहाँलाई समानुपातिकतर्फ मुस्लिम कोटाबाट प्रतिनिधि सभामा सिफारिस गरेसँगै उहाँको संसदीय यात्रा सुरु भएको हो । २०३८ मङ्सिर ३ गते बुवा अमजद अली सिद्धिकी र आमा ताहिरा खातुन सिद्धिकीको कोखबाट जन्मिएकी साजिता सानै उमेरमा समाजसेवामा सक्रिय हुनुभयो । यो उमेरमा आइपुग्दा उहाँ मेलमिलापकर्ता, साइको–सोसल परामर्शकर्ता, लेखकका रूपमा परिचित भइसक्नुभएको छ । 

उहाँले स्थापना गरेको ‘सिसा’ संस्थामार्फत शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तीकरण र सामाजिक सचेतनाका कार्यक्रम दाङका बस्ती बस्तीमा पु¥याइँदै आएका छन् । विशेषतः मुस्लिम समुदायका महिला बुर्काबाहेक घरबाहिर निस्कन पनि कठिन मानिन्थ्यो । साजिताले त्यही परम्परागत घेरालाई चुनौती दिँदै नेतृत्वको उदाहरण स्थापित गर्नुभयो । उहाँको कलम पनि उति नै धारिलो छ । महिला अनुभव र समाजका अदृश्य भित्ता उजागर गर्ने पुस्तक लेख्दै आएकी उहाँको पछिल्लो कृति ‘मनसुन लभ’ चर्चामा छ । 

कलम र कर्म दुवै मोर्चामा अघि बढ्दै उहाँले कठिन घडीमा मानवीय सेवालाई प्राथमिकता दिन छुटाउनुभयो । कोभिड–१९ महामारीका दिनमा जिल्लाका सरोकारवालासँग सहकार्य गरेर सचेतना अभियान, स्वास्थ्य सामग्री वितरण र विपन्न/असहाय परिवारका लागि राहत पु¥याउने काममा उहाँ सधैँ अ

ग्रपङ्क्तिमा देखिनुभयो । दाङमा आउने प्राकृतिक वा सामाजिक विपत्तिमा सक्रिय उपस्थिति उहाँका पहिचानको अंश बनेका छन् । हाल नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय उपाध्यक्ष र नेकपा (एमाले) को केन्द्रीय सदस्य रहेकी साजिता संसद्मा पुगेर कुन एजेन्डा बोक्नुभएको छ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “म आफ्नो मुद्दामा स्पष्ट छु । दाङको समग्र विकास, सुशासन, पारदर्शिता र जनउत्तरदायित्वमा अविचलित आवाज उठाउने छु ।” 

उहाँका अनुसार मुस्लिम समुदायसहित सीमान्तकृत र पछाडि पारिएका वर्गको हकअधिकार सुनिश्चितता संसद्को आफ्नो प्रमुख एजेन्डा बन्ने छ । जनताको निराशालाई आशामा बदल्न आफ्नो क्षमता, दक्षता र अनुभव पूर्ण रूपमा प्रयोग गर्ने वचनबद्धता उहाँले व्यक्त गर्नुभयो ।

साजिताले समुदायको सामूहिक आकाङ्क्षा, परम्परागत कुसंस्कार, लैङ्गिक विभेद र आर्थिक अवरोधविरुद्ध सशक्त रूपमा आवाज उठाउँदै आउनुभएको छ । दाङको समग्र विकास, महिला र बालिकाको सुरक्षित शिक्षा, सामुदायिक स्वास्थ्य सुविधा, उद्यमशीलता प्रवर्धन र राजनीतिक सहभागिताको चौतर्फी एजेन्डासहित संसद् र सिंहदबारमा लागिपर्ने उहाँले बताउनुभयो ।   

Author
सन्तोष दहित

उहाँ गोरखापत्र दैनिकको दाङ जिल्लाका लागि दाङ समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।